खेल

जितले माउरिन्होलाई गाह्रो

बर्नमाउथ – इङलिस प्रिमियर लिगअन्तर्गतको खेलमा बुधबार बर्नमाउथमा २–० को जित हासिल गरेपछि एफए कपको सेमिफाइनलका लागि टिम छनोट गर्न आफूलाई दुविधा भएको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।

आइतबार संघर्षरत वेस्ट ब्रोमसँग स्तब्धतापूर्ण पराजय भोेगेको टोलीमा माउरिन्होले सात परिवर्तन गर्दा क्रिस स्मलिङ र रोमेलु लुकाकुले गोल गरेपछि डिन कोर्टमा युनाइटेडले सहज जित हासिल गरेको थियो । आइतबारको हारपछि युनाइटेडले प्रिमियर लिग उपाधि सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई सुम्पिएको थियो।

उपाधिको सम्भावना औपचारिक रुपमै सकिइसकेको अवस्थामा शनिबार टोटेनह्यामविरुद्ध हुने एफए कप सेमिफाइनललाई ध्यानमा राख्दै माउरिन्होले बुधबार आफ्ना थुप्रै स्टारलाई आराम दिँदा लुकाकु, एलेक्सिस सान्चेज र हुवाँ माटा पहिलो रोजाईमा थिएनन्।

जारी सिजनको अन्त्यपछि माउरिन्होले फर्ममा नरहेका फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई विक्री गर्ने योजना बनाइरहेको चर्चा चले पनि बुधबार उनी भने पहिलो रोजाईमै मैदान उत्रिएका थिए।

माउरिन्होको कडा स्वभावको प्रभाव खेलाडीमा पर्दा पहिलो हाफमा स्मलिङले टोलीलाई अग्रता दिलाए । जेसे लिङगार्डको पासलाई सहज ट्यापमार्फत स्मलिङले गोलमा परिणत गर्दै २८औं मिनेटमा युनाइटेडको खाता खोलेका थिए।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका लुकाकुले पाउल पोग्बाको उत्कृष्ट थ्रु पासलाई गोलमा परिणत गर्दै समय सकिन २० मिनेट बाँकी रहँदा युनाइटेडको जित पक्का गरे । लुकाकु ६२औं मिनेटमा लिङगार्डलाई स्थानान्तरण गर्दै मैदान छिरेका थिए।

नयाँ अनुहारको टोलीले गरेको प्रदर्शनबाट प्रभावित बनेका माउरिन्होले एफए कप सेमिफाइनलका लागि टोली छनोट गर्दा धेरै पटक सोच्ने बताए । ‘आज सबथोक सोचेजस्तै भयो । मैदानमा सबै खेलाडीले सकारात्मक व्यवहार देखाए, म त्यसबाट खुसी छु।

शनिबारको खेलका लागि छनोटमा अब सबै खेलाडी उपलब्ध हुनेछन्,’ माउरिन्होले भने, ‘सबै खेलाडी आज सही पोजिसनमा थिए । उनीहरु अझै केही गर्न चाहन्थे । शनिबार वेम्ब्लीमा म यही ११ खेलाडीको सेट पक्कै पनि उतार्ने योजनामा छैन । रोमेलु लुकाकु, एन्टोनियो भ्यालेन्सिया र नेमान्जा माटिचलाई टोलीमा फिर्ता बोलाउनुपर्छ । तथापि पहिलो ११ खेलाडी छान्न मलाई अब गाह्रो हुनेछ।’

दुई सिजनअघि कीर्तिमानी सरुवा रकममा युभेन्ट्सबाट युनाइटेड आएका पोग्बाको प्रदर्शन पछिल्लो समय आलोचनाको विषय बन्दै आएको छ । तर बुधबार उनको प्रदर्शनमा प्रशिक्षक माउरिन्हो सन्तुष्ट थिए । ‘वेस्ट ब्रोमविरुद्ध पोग्बाले राम्रो गर्न सकेनन् । म खासमा उनको प्रशंसक होइन, तर म्यानचेस्टर सिटीविरुद्ध उनले असाधारण प्रदर्शन गरेका थिए । आज पनि उनले राम्रो खेले,’ माउरिन्होले थपे।

बुधबारको जितसँगै पाँचौं स्थानको चेल्सीलाई १४ अंकले पछि छोड्न सफल युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने पक्का जस्तै भइसकेको छ।

प्रकाशित: ७ वैशाख २०७५ ०४:४६ शुक्रबार

जितले माउरिन्होलाई गाह्रो