खेल

कमजोर टोलीमाथि नेपालको संघर्ष

विमला चौधरीको गोलप्रेरित नेपालले सोमबार किर्गिस्तानमाथि जित निकाल्दै चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ। 

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाहुना टोली किर्गिस्तानमाथि १–० को जित निकाल्दा विमलाको गोल निर्णायक बन्यो। फिफा वरीयतामा २५औं स्थान तलको किर्गिस्तानविरुद्ध घरेलु टोलीले संघर्षपूर्ण जित निकालेको हो। फिफा वरीयतामा नेपाल १०३औं र किर्गिस्तान १२८औं स्थानमा छन्। 

यस च्याम्पियनसिपमा यी दुईबाहेक म्यानमार र लेबनान छन्। जुन, किर्गिस्तानको तुलनामा नेपालका लागि बलिया प्रतिद्वन्द्वी हुन्। सोमबार नै दशरथ रंगशालामा भएको पहिलो खेलमा म्यानमारले लेबनानमाथि ३-१ को जित निकालेको थियो। यद्यपि, हार बावजुद लेबनानको प्रदर्शन तारिफयोग्य रह्यो।

किनकी फिफा वरीयतामा ५५औं स्थानमा रहेको म्यानमारलाई १३४औं स्थानको लेबनानले धेरै चुनौती दिएको थियो। साथै म्यानमारविरुद्ध लेबनानले सटिक पास र आक्रामक शैलीको फुटबल पनि देखायो। जुन शैलीले नेपालमाथि पनि चुनौतीको संकेत देखिएको छ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा खेल्नेछन्। 

यस्तोमा नेपालले कम्तीमा दुई खेल जित्नु पर्नेछ। दोस्रो जित निकाल्न नेपालका लागि लेबनान तुलनात्मक रूपमा कमजोर टोली हुन सक्दछ। तर, पहिलो खेलको प्रदर्शन सन्तोषजनक हुन नसक्दा नेपालको दोस्रो जित सहज देखिएको छैन। यो प्रदर्शनले लेबनानलाई हराउन कठिन बन्न सक्छ।

अब नेपालले दोस्रो खेलमा नै बिहीबार लेबनानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। यस च्याम्पियनसिप जित्दै नेपाल १२ वटा प्रतियोगितामा उपविजेतामै सीमित बन्न बाध्य भएको अवस्था सुधार ल्याउन चाहन्छ। तर, सहज भने देखिएको छैन। पहिलो खेलको प्रदर्शनले नेपालको उपाधि जित्ने सपना कमजोर रहेको देखाएको छ। पहिलो हाफमा लगातार आक्रमण हुँदा नेपालको फराकिलो जित अपेक्षा गरिएको थियो। तर, नतिजा भने आशाअनुरूप आएन। लगातार अवसर सिर्जना गरे पनि सदुपयोग हुन नसकेपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले सोमबार नै स्वदेश फर्किएकी स्टार स्ट्राइकर सावित्रा भण्डारीलाई मैदान पठाएका थिए। तर, त्यो निर्णय प्रभावकारी भएन।

प्रशिक्षक राजेन्द्रले भने आगामी खेलका लागि टिम सेट गर्न सावित्रालाई मैदान पठाएको भन्दै आफ्नो निर्णयप्रति बचाउ गरे। पाहुना टोलीविरुद्ध सुरुदेखि नै दबाब बनाएको नेपालले छिटै अग्रता लिएको थियो। दोस्रो हाफमा भने त्यो लय जारी राख्न सकेन। त्यसअघि खेलको छैटौं मिनेटमा नेपालले पहिलो अवसर बुन्यो। 

तर, स्ट्राइकर सबिता रानामगरले त्यो अवसर सदुपयोग गर्न सकिनन्। नजिकै दूरीबाट गोल गर्ने सुन्दर अवसर सबिताले गुमाइन्। रेखा पौडेलले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको प्रहार किर्गिस्तानकी गोलकिपर दिलनुरा किजीले रोक्ने प्रयास गरिन्। तर, बल डिफ्लेक्ट भएर सबिताको नियन्त्रणमा पुग्यो। त्यो बललाई उनले वन टच गरे पनि पोस्टको दिशामा रहन सकेन।

यद्यपि, दशौं मिनेटमा भने नेपालले विमलाको हेड गोलबाट अग्रता लियो। सबिताले राइट साइडबाट दिएको बललाई विमलाले हेडमामार्फत जाली चुमाएकी हुन्। यससँगै विमलाले दोस्रो अन्तर्राष्ट्रिय गोल गरिन्। उनले यसअघि सन् २०२१ को एएफसी एसियन कप क्वालिफायरमा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन्। चार वर्षपछि उनी दोस्रो गोल गर्न सफल भइन्। यस खेलमा उनले केही राम्रा अवसर पनि बनाइन्। १८औं मिनेटमा मिनेटमा पनि विमलाले नै अर्को अवसर बनाएकी थिइन्। तर, नजिकैबाट उनले गरेको प्रहार किर्गिस्तानकी गोलकिपर दिलनुराले रोकिन्। २९औं मिनेटमा पनि रेखाको सट सफल भएन। करिब १० यार्डबाट उनको सट दिलनुराले सहजै नियन्त्रणमा लिइन्।

पहिलो हाफको थप समयमा लगातार तीन प्रहार गरे पनि नेपाली खेलाडी गोल गर्न सफल भएनन्। पेनाल्टी बक्स बाहिरबाट रश्मिकुमारी घिसिङको प्रहार बारमा लागेर फर्कियो। सोही बल नियन्त्रणमा लिँदै सबिता रानामगरले आठ यार्डबाट गरेको चिप सट पनि बारमै लागेर फर्कियो। फेरि रेखाले नजिकै दूरीबाट प्रहार गरे पनि यसपल्ट किर्गिस्तानकी डिफेन्डर एडेलैडा मिर्जालिभाले गोल हुनबाट रोकिन्। यससँगै पहिलो हाफमा नेपाल १–० ले अगाडि रह्यो। दोस्रो हाफमा भने गोल निस्किएन। नेपालले पनि खासै राम्रो अवसर बनाउन सकेन। घरेलु टोलीका प्रशिक्षक राजेन्द्रले डिफेन्डर विमला विकको स्थानमा स्ट्राइकर सावित्रालाई मैदान पठाएका थिए।

तर, खेलाडीबीच अन्तिमसम्म पनि तालमेलको अभाव देखियो। ८१औं मिनेटमा मात्र नेपालले राम्रो अवसर सिर्जना ग¥यो। यसपल्ट पनि सबिता रानामगर नै नजिकै दूरीबाट गोल गर्न सफल भइनन्। मध्य भागबाट प्रीति राईले दिएको बल किर्गिस्तानकी डिफेन्डर एडिलैडाको शरीरमा ठोकिएर सबितानजिक पुग्यो। त्यो बल नियन्त्रणमा लिँदै सबिताले गरेको प्रहार पोस्टभित्र रहन सकेन। ८७औं मिनेटमा पनि रेखाको लामो प्रहार दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो। इन्जुरी समयमा नेपाल गोल बेहोर्नबाट बच्यो। आइना कारेतेइभाको फ्रिकिक माथिल्लो बार नजिकैबाट बाहिरिएपछि नेपाललाई ठूलो राहत मिल्यो। 

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक राजेन्द्र र मिडफिल्डर प्रीति राईले दोस्रो हाफमा योजनाअनुरूप खेल्न नसकेको स्विकार गरे। ‘पहिलो हाफमा धेरै अवसर बन्यो। तर, त्यो सदुपयोग हुन सकेन। त्यसैले सावित्रालाई पठाएको थिएँ। उनीसँग टोलीको प्रशिक्षण भएको थिएन र त्यसैले खेलाडीबीच तालमेल हुन सकेन,’उनले भने,‘दोस्रो हाफमा झन् खराब भयो।’ मिडफिल्डर प्रीतिले पहिलो खेलमा जित निकाले पनि समग्रमा राम्रो खेल्न नसकेको स्विकार गरिन्। दोस्रो हाफमा फरमेसन परिवर्तन भएपछि खेल्न नसकेको उनको भनाइ छ। 

यद्यपि, टोलीले त्यो फरमेसनमा पनि प्रभावकारी तयारी गरेको उनको विश्वास थियो। ‘हामीले दोस्रो हाफको फरमेसनमा तयारी गरेका थियौं। तर, आज खेल्न सकेनौं। गोल र प्रदर्शन हेर्दा धैरे सुधारको आवश्यक छ,’प्रीतिले भनिन्। किर्गिस्तानका प्रशिक्षक नेमातझान जाकिरोभले बलियो टोली नेपालविरूद्धको खेल कठिन रहे पनि आफ्नो टोलीले राम्रो फुटबल खेल्ने प्रयास गरेको बताए।

प्रकाशित: ६ फाल्गुन २०८१ ०८:२६ मंगलबार

#Nepal #won #NagarikDaily