नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेटका लागि मैदानसहितका धमाधम आवश्यक पूर्वाधार निर्माण भइरहेका छ। सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।
अहिले नेपाली क्रिकेटले पनि अन्तर्राष्ट्रिय स्तरमा नै एकपछि अर्को सफलता हासिल गरिरहेको छ। सोहि क्रेजलाई ध्यानमा राखेर पुराना रंगशालालाई मर्मतसम्हार गर्ने र थप नयाँ रंगशाला बनाउने काम पनि सँगसँगै अघि बढेका छन् ।

१ फाप्ला क्रिकेट रंगशाला, धनागढी
धनगढ़ीमा रहेको समुदायिक वन क्षेत्रभित्र ५ वर्षअघि सुभाषबहादुर शाहीले क्रिकेट रंगशाला निर्माण गराउन मुख्य भूमिका खेलेका हुन्। उनि यस क्रिकेट मैदानका अध्यक्ष पनि हुन्। यस रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन उनी दिनरात खटिरहेका छन्। सरकारले यो रंगशाला निर्माणका लागि करिब ३८.५ बिघा जग्गा छुट्याईसकेको छ भने निर्माण पश्चात रगशाला ७० हजार दर्शक क्षमताको हुनेछ।
सन् २०१९ को धनगढी प्रिमियर लिगपछि चर्चामा आएको यस फाप्ला क्रिकेट रंगशालालाई यस क्षेत्रकै गौरवको आयोजनाको रुपमा पनि हेरिएको छ। रंगशाला निर्माणका लागि करिब १५ अर्ब लागत आकलन गरिएको छ । क्रिकेट, फुटबल, कराँतेसहितका खेल खेलाउन मिल्ने रंगशाला बनाउने योजना छ ।
सुदूरपश्चिम सरकारले आर्थिक वर्ष ०७६-७७ देखि हरेक वर्ष बजेट विनियोजन गर्दै आए पनि संघीय सरकारले वैशाख २६ गतेमात्र फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको थियो । दशकअघि नै ‘ड्रिम फाप्ला’ अभियान घोषणा गरिएको थियो । रंगशाला निर्माणका लागि सरकारले फाप्लामा साढे ३८ बिघा जग्गा भोगाधिकार दिने निर्णय पनि गरिसकेको छ ।
तत्कालीन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीसमेतको सहभागितामा गत २९ असारमा धनगढीमा बसेको पूर्वाधार निर्माण विकास समितिको बैठकले डिपिआर निर्माणको काम तत्काल अगाडि बढाउने र त्यसका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको थियो । तर, सरकारी प्राथमिकतामा नपर्दा डिपिआरका लागि बजेट विनियोजन भएन।
यसअघि संघबाट जग्गाको भोगाधिकार नपाउँदा प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च नभएर फिर्ता जाने गरेको थियो । समितिको कार्यालय सञ्चालन र व्यवस्थापनका लागि सरकारले यस वर्ष एक करोड विनियोजन गरेको छ।
२ एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला, रुपन्देही
विनोद कुँवरको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ रुपन्देहीको तिलोत्तमामा छ। यस क्रिकेट रंगशाला निजी लगानीमा बनेको नेपालको पहिलो रंगशाला हो। हाम्रो देशमा जहाँ सामान्य कन्स्ट्रक्सन गर्न पनि वर्षौ लाग्छ त्यहाँ निजी लगानीमा मात्र ९ महिनामा खेल्न योग्य रंगशाला बनेको छ। अस्ट्रेलियामा बस्ने गुल्मीका बिनोदले देशमा रंगशाला बनाउने सपना देखेका थिए। सोही अनुरुप ४० करोड लागतमा यस रंगशाला निर्माण सम्पन्न गरेर देश दुनियाँलाई चकित परेका छन्। यसमा १० हजार दर्शक अट्छन्।
विनोदको क्रिकेटप्रतिको मोहले तिलोत्तमा नगरपालिकाको वडा नम्बर–१७ दरखसवामा निर्माण गरिएको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ ले शिलान्यास गरिएको २० महिनामा अहिले अन्तर्राष्ट्रिय स्वरूप निर्धारण गरेको छ।
६ बिघा क्षेत्रफलमा फैलिएको क्रिकेट मैदान र मुख्य पिच निर्माण कार्य एक वर्षअघि नै पूरा भइसकेको थियो। २०८० साल जेठ २९ गते शिलान्यास गरिएको मैदान नौ महिनामै खेल्नका लागि तयार गरी २०८० फागुन २८ गते उद्घाटन गरिएको थियो । जसमा लिजेन्डस् कप क्रिकेट प्रतियोगितामा नेपालका चार टोलीले भाग लिएका थिए । जसमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को पहिलो टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लिजेन्डस् र रेस्ट अफ नेपालबिच प्रतिस्पर्धा भएको थियो ।
मैदानमा अहिले फर्डलाइट हाल्ने काम भइरहेको छ। एक्स्ट्राटेक ओभलमा चाँडै नै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरू आयोजना गर्न सकिने गरी निर्माण कार्यलाई तिब्रता दिइएको छ।
‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ अबको दुई वर्षमा २५ हजार दर्शक क्षमताको सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाइसक्ने अठोट निर्देशक बिनोदको छ।
क्रिकेट मैदानमा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर समेत रहनेछ । एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिने योजना छ । उनले काठमाडौँ र भरतपुरमा समयमै मैदान बन्न नसकेको कुरालाई ध्यानमा राखेर आफूले मैदान निर्माणका लागि आवश्यक रकम सुनिश्चित गरेर अगाडि बढेको पनि बताए ।
३ मुलपानी क्रिकेट रंगशाला, काठमाडौं
काठमाडौँको रत्नपार्कबाट १० किलोमिटर दुरीमा रहेको मुलपानीमा दुइ ठुला क्रिकेट रंगशाला निर्माणाधिन अवस्थामा छन् । यी दुईलाई माथिल्लो र तल्लो मुलपानी रंगशाला नाम दिइएको छ ।
अपर मुलपानी क्रिकेट रंगशालालाई जयकुमार शाह क्रिकेट रंगशाला पनि भन्ने गरिन्छ । नेपाली खेलाडीको प्राक्टिस गर्ने यस ग्राउण्डमा प्याराफिट लगायत अन्य भौतिक संरचना निर्माण हुने क्रममै छ। यो कीर्तिपुरमा रहेको टीयु क्रिकेट मैदान पछि ओडीआई खेल भएको नेपालभित्रको दोस्रो क्रिकेट मैदान पनि हो। त्यस्तै लोअर क्रिकेट रंगशाला भने करिब २ दशकदेखि निर्माणकै क्रममा छ। पछिल्लो केहि वर्षयता भने निर्माणले गति लिएको यसमा प्याराफिटको निर्माण भने भैसकेको छ। त्यस्तै भिआइपी बक्स, पार्किंङ लगायतका निर्माणका धमाधम भईरहेको छ।
२०६० सालमा गुरुयोजना बनाएर ०७१ मा ठेक्का लगाएको रंगशाला हो तर अझै सम्पन्न हुन सकेको छैन । पहिलो चरणअन्तर्गत मैदान सम्याउने र तीनवटा प्यारापिट ब्लक निर्माण गर्ने काम सम्पन्न भैसकेको छ ।
दोस्रो चरणमा वरिपरि वाल लगाउने, जग्गा संरक्षण गर्ने, मुआब्जा विवाद सुल्झाउने र ग्राउन्ड क्लियर गर्ने काम सकिएको छ । पिच गर्ने, दुईवटा ब्लक बनाउने, जनरल प्यारापिट निर्माण गर्ने, एउटा भिआइपी कक्ष, खेलाडीको चेन्जिङ रुमलगायत संरचना बनाउन बाँकी छ । रंगशालाको पश्चिमतर्फ बाटो निर्माण र पार्किङ व्यवस्थापनको कार्य पनि बाँकी नै छ । तर सरकारले हालै यस क्रिकेट मैदानलाई थप विस्तार र निर्माण गर्ने निर्णय गरेको छ । यसले लामो समयदेखि अपुरो रहेको रंगशाला निर्माणले गति लिने विश्वास छ ।
राष्ट्रिय गौरवको आयोजनाका घोषणा भएको मुलपानी क्रिकेट रंगशाला निर्माण गर्न करिब ७ अर्ब लाग्ने अनुमान छ। यो निर्माण सम्पन्न गर्न राखेपले डीपीआर समेत तयार गरिसकेको छ। राखेपले यसै आर्थिक वर्षबाट काम अघि बढाउँन श्रोत सुनिस्चितताको लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसंग सहमति मागिसकेको छ।
सरकारले यसको निर्माण प्रक्रिया अघि बढाउँन ५० करोड बिनियोजन समेत गरिसकेको छ। परिषदले भने थप ५० करोड माग गरेर १ अर्बको सुनिस्चितता गरेर ठेक्का लगाउने गृहकार्य समेत अघि बढाएको छ। यो अन्तराष्ट्रियस्तरको रंगशाला हुनेछ । यस रंगशालामा सुरुवातमा १५ हजार दर्शक क्षमता रहेको भएपनि नयाँ डीपीआर तयार पश्चात भने २१ हजार क्षमताको हुनेछ।
आयोजना अन्तर्गत २ वटा खेल मैदान, पेबिलियन, गार्ड हाउस, टिकट काउन्टर, होस्टल, रेस्टुरेन्ट, स्विमिंग पुल, जिम हल, खेलाडीहरुको ब्लग, पार्किङ्ग क्षेत्र, बाटो, हरियाली क्षेत्र, रिटेनिंग वाल लगायतका संरचना निर्माण गरिनेछ।
४ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, चितवन
धुर्मुस(सुन्तली फाउन्डेसनले चितवनमा निर्माण घोषणा गरेर अगाडी बढेको रंगशाला हो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । तर विभिन्न कन्ट्रोभर्सी र सरकारको असहयोगका कारण यो रंगशाला निर्माणले गति लिन सकेन । धुर्मुस(सुन्तली फाउण्डेसनले पनि आर्थिक अभावको कारण देखाउँदै निर्माण कार्यलाई बीचमै छाड्यो । तर, अहिले भरतपुर महानगरपालिकाले स्वामित्व ग्रहण गरेपछि निर्माण कार्यले गति समाएको छ । पहिलो चरणमा १० हजार दर्शक अटाउने गरि स्ट्यान्ड, मैदानको सम्पूर्ण काम र २ वटा टावर निर्माण हुनेछ। यसको क्षेत्रफल ३ हेक्टरभन्दा बढी रहेको छ भने यो निर्माण पश्चात नेपालकै ठुलो रंगशाला हुनेछ।
भरतपुर महानगरमा निर्माणाधिन यस क्रिकेट रंगशाला नेपालको लागि एक ऐतिहसिक परियोजना हो। प्याराफिट र टावर १ र २ निर्माण कार्य अगाढी बढिरहेको छ। पहिलो चरणको पिल्लर उठाउने काम समेत भैरहेको छ।
संघीय सरकार, बागमती प्रदेश सरकार र भरतपुर महानगरबिचको सहकार्यपछि रंगशाला निर्माण पुनस् सुरु भएको हो । उक्त रंगशालाको काम २०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले सुरु गरेको थियो । उक्त कम्पनीले ७८ करोड ५० लाख ९१ हजार लागतमा ठेक्का लिएको हो ।
बागमती प्रदेश सरकारको ७५ करोड र भरतपुर महानगर पालिकाको ५ करोड रुपैयाँबाट रंगशालाको काम अगाडि बढाइएको छ । संघीय सरकारले पनि रंगशाला निर्माणको लागि बजेट विनियोजन गरेको छ । निर्माण सुरु भएको ५ महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने अपेक्षा छ। रंगशालामा दैनिक १५० देखि १७५ जना कामदार खटिएका छन् । निर्माण सुरु भएको ५ महिनामा थप १३ प्रतिशत काम सम्पन्न भइसकेको छ । चितवनको भरतपुर महानगरपालिका(१५ रामपुरमा निर्माण भइरहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने ३ तहको प्याराफिट र भिआईपी टावर तथा खेलाडीहरू बस्ने टावर निर्माण गरिने छ।
५ त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुर
सन् १९९८ मा निर्माण भएको यस रंगशालामा नेपालमा हुने क्रकेटका अधिकांश खेल संचालन भइरहेका छन् । मुलपानीमा अर्को क्रिकेट मैदान पनि सञ्चालनमा आएपछिमात्र एकाध खेल उता भएका हुन् । नत्र नेपाली क्रिकेटको शान यहीँ मैदानले एक्लै बोक्दै आएको छ ।
उबेला नेपालले एसीसी ट्रफी आयोजना गर्ने अवसर पायो । तर प्रतियोगिता गराउन अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनुपर्ने चुनौती थियो । यसबीचमा सन् १९९६ मा क्यानले भारतको जी(स्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गर्यो । जी स्पोर्ट्सले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अहिले रहेको मैदान उपयुक्त देख्यो । अहिले क्रिकेट मैदान भएको स्थानमा त्यतिबेला सानो फुटबल मैदान थियो ।
अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने सम्झौतासहित क्यानले त्रिभुवन विश्वविद्यालयसँग त्यो जग्गा पाँच वर्षका लागि भाडामा लिएको थियो । त्यसपछि जी स्पोर्ट्सले काम सुरू गर्यो । अनि त्यही मैदानमा नेपालले सन् १९९८ मा एसीसी ट्रफी आयोजना गरेको थियो ।
त्यसयता त्रिवि क्रिकेट मैदानमा वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभदेखि, वर्ल्ड क्रिकेट लिग टु, टी(२० विश्वकप क्वालिफायर एसियास्तरका विभिन्न प्रतियोगिता भइसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको पहिलो मन्त्रिपरिषद् बैठकबाट तीन सय दिनमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदान बनाउने निर्णय गराएका थिए। सोही निर्णयअनुसार त्रिवि मैदानको डिपिआर सहरी विकास मन्त्रालयले तयार गरिरहेको छ।
तर हालै सम्पन्न भएको एनपीएल प्रतियोगिताको लागि भनेर क्यानले थोरै भएपनि भौतिक प्रगति गरेको भने देख्न सकिन्छ।
पुरानो पीचको पूरै माटो फालेर नयाँ स्वरूपमा पीच निर्माण गरिएको छ। आठ वटा पीचको निर्माण गर्न बंगलादेशबाट क्युरेटर मगाइएको थियो। साथै पीच निर्माणका लागि नेपालका ग्राउन्ड स्टाफले पनि काम गरेका थिए। क्यानले पीचसँगै त्रिवि मैदानको आउट फिल्ड पनि मर्मत गरेको छ। क्यानले घाँस रोप्नुका साथै विभिन्न स्थानमा मैदानको माटो मिलाएको थियो।
त्रिवि मैदानको बाउन्ड्री लाइन पनि बढाइएको छ। मैदानमा ३ मिटरदेखि ५ मिटरसम्म बाउन्ड्री बढेको छ। आउट फिल्डको मर्मत गरेसँगै बाउन्ड्री लाइन बढेको हो।
मैदानमा विभिन्न चार जोन निर्माण गरिएको छ। उक्त चार जोनलाई तारले छेकिएको छ। सुरक्षाको दृष्टिकोणले जोन निर्माण गरिएको हो।
एक जोनमा कम्तिमा ३ हजार दर्शक अट्ने छ। त्रिवि मैदानमा अस्थायी प्यारापिट निर्माण गरिएको छ। कुर्सी राख्ने काम सम्पन्न भएको छ। त्रिवि मैदानमा अहिले नयाँ साइड स्कृन ९ब्याट्सम्यानको सिधा अगाडिको भाग० समेत बनिसकेको छ। त्यस्तै डिजिटल स्कोर बोर्ड समेत त्रि बि क्रिकेट मैदानमा जडान गरिएको छ।
यसअघि लेखिएको स्कोर बोर्डमार्फत् रन र विकेट देखाउने गरिएकोमा अब भने डिजिटल स्कोर बोर्डबाट रन र विकेट हेर्न सकिनेछ। यो स्कोर बोर्ड भने राष्ट्रिय खेलकुद परिषदको सहयोगमा जडान गरिएको हो।
त्यस्तै क्यानले मैदान बाहिर चौरमा नयाँ प्राक्टिस नेट समेत निर्माण गरेको छ।
यसरी यी लगायत देशैभर दर्जनभन्दा बढी थप रंगशालाहरुको निर्माण कार्य अगाढी बढिरहेको छ।
पोखरा क्रिकेट रंगशाला, सिद्धार्थनगर रंगशाला रुपन्देही, देउखुरी अन्तराष्ट्रिय क्रिकेट रंगशाला आदि बन्ने तरखरमा छन् ।
यदि यी संरचना समयमै सम्पन्न हुने हो भने नेपाल क्रिकेटको हब बन्नेछ । जसरी अहिले यूएईलाई तटस्थ मैदानका रुपमा आईसिसीले प्रयोग गरिरहेको छ त्यसरी नै नेपाल प्रयोग हुन सक्नेछ । भारत र पाकिस्तानका अधिकांश खेलहरु यहाँ गराउन सकिनेछ । विभिन्न कारणले समस्यामा परेका अन्य देशका खेलहरुलाई पनि यहाँ खिच्न सकिन्छ । हिमालयनको देशमा क्रिकेटको महाकुम्भ चलाउन सकिन्छ । तर त्यसका लागि सबै रंगशाला निर्माण समयमानै पूरा हुनु पर्नेछ ।
प्रकाशित: ३० माघ २०८१ १८:०८ बुधबार