खेल

बलिङ असफल हुँदा नेपालको लज्जास्पद हार

नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्दै नेपालकी कप्तान इन्दु बर्मा। तस्बिर: क्यान

नेपाली यु–१९ टोलीकी कप्तानसमेत रहेकी पूजा महतोको उत्कृष्ट ब्याटिङका बावजुद बलिङमा साथ नपाउँदा नेपालले बुधबार नेदरल्यान्ड्ससँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी ट्वान्टी शृंखलामा बुधबार बिर्सनलायक बलिङ गरेपछि नेपालले डच टोलीसँग लज्जास्पद हार सामना गरेको हो। पूजाले उत्कृष्ट ब्याटिङ गरेपछि शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले राम्रो योगफल बनाएको थियो। तर, बलिङमा भने नेपाली टोलीको प्रदर्शन निराशाजनक रह्यो। पछिल्ला चार खेलमा उत्कृष्ट लयमा रहेकी नेपाली यु–१९ टोलीकी सदस्य मनीषा उपाध्याय पनि प्रभावकारी बन्न सकिनन्। मनीषा नेपालबाट सर्वाधिक (७ विकेट) विकेटकर्ता हुन्। तर, बुधबार डच टोलीविरुद्ध तीन ओभर बलिङ गरेकी मनीषा पनि विकेटविहीन रहिन्।  

खराब सुरुआत भए पनि पूजाको अर्धशतक र कप्तान इन्दु बर्माको साथ पाएपछि नेपालले जारी शृंखलामा अहिलेसम्मकै ठूलो योगफल बनाएको थियो। तर, बलिङमा साथ पाउन नसक्दा इन्दु बर्माको कप्तानीमा नेपालले टी ट्वान्टीमा लगातार सातौं हार सामना गरेको छ।

 यस शृंखलामा भने नेपालको यो पाँचौं हार हो। नेपालले यसै शृंखलामा डच टोलीसँग तीन हार, थाइल्यान्डसँग दुई र एसिया कपमा भारत र पाकिस्तानसँग समान एक हार बेहोरेको थियो। नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित शृंखलामा नेपालले अब अन्तिम खेल आगामी शुक्रबार थाइल्यान्डसँग खेल्नेछ। ओपनरद्वय स्टेर कालिस र फेबे मोल्केनबोइरको सानदार इनिङमा नेदरल्यान्ड्सले बुधबार फराकिलो हार सामना गरेको हो।

पूजाको अर्धशतक प्रेरणामा नेपालले १४६ रनको लक्ष्य दिएको थियो। तर, नेपालले खराब बलिङ गरेपछि नेदरल्यान्ड्सले १९.४ ओभरमा बिनाविकेट लक्ष्य भेट्टायो। कप्तान इन्दुले सात बलर प्रयोग गरे पनि डच टोलीको विकेट निकाल्न सफल भइनन्।

नेपाली युवा बलर पूजाले घरेलु मैदानमा नै विकेटविहीन हुनु लाजमर्दाे विषय भएको उल्लेख गरिन्। ‘लगातार हार भए पनि अन्तिम सयमसम्म समर्थकले साथ दिइरहनुभएको छ। म आफैं पनि बलर हुँ। घरेलु मैदानमा पनि विकेट लिन नसक्नु लाज मर्दाे विषय हो,’ पूजाले भनिन्, ‘यी शृंखलामा आएको टोली हाम्रै स्तरको हो। तर, फिटनेस र फिल्डिङ हाम्रोभन्दा उनीहरू राम्रा छन्। यसले नै फरक भैरहेको छ।’

उनले ब्याटिङमा राम्रो गर्न सके पनि बलिङमा उत्कृष्ट दिन नसक्दा दुःख लागेको बताइन्। तर, आगामी खेलमा सुधार गर्ने आशा व्यक्त गरेकी छन्।

नेदरल्यान्ड्सका ओपनरद्वय स्टेर कालिस र फेबे मोल्केनबोइरले १५१ रनको अविजित साझेदारी गरे। यो शृंखलाकै सबैभन्दा ठूलो साझेदारी पनि हो। कालिस ९८ रन र फेबे ४८ रनमा अविजित रहे। यससँगै कालिस शृंखलामा सर्वाधिक (१४६ रन) रनकर्ता भइन्। कालिसले बलमा ११ चौका र दुई छक्का हिर्काइन्। फेबे मोल्केनबोएरले  ४९ बलमा चार चौका हिर्काइन्। बलिङमा नेपालका लागि अनुभवी मानिएका सीता रानामगर, पूर्वकप्तान रुबिना क्षेत्री र इन्दु बर्मा सबै प्रभावकारी बन्न सकेनन्।

त्यसअघि पूजाको अर्धशतकीय इनिङमा नेपालले  २० ओभरमा चार विकेट गुमाउँदै १४५ रनको योगफल खडा गरेको थियो। पूजा ६२ रनमा नटआउट रहिन्। यससँगै उनी सर्वाधिक रनकर्ताका सूचीमा तेस्रो स्थानमा (१२८ रन) उक्लिइन्। उनीभन्दा अगाडि कालिस शीर्षमा र थाइल्यान्डकी नान्नापात कोन्चारोइन्काई दोस्रो (१४० रन) स्थानमा छन्।

५१ बल खेलेकी पूजाले पाँच चौका हिर्काइन्। शृंखलामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक र अन्तर्राष्ट्रिय टी ट्वान्टीमा पूजाको दोस्रो अर्धशतक हो। यसअघि पूजाले गत वर्ष एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको इनिङ खेलेकी थिइन्।

पूजाले कप्तान इन्दु बर्मासँग तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरेकी थिइन्। इन्दुले ३९ रन जोड्दै पूजालाई साथ दिइन्। इन्दुले ३७ बलमा पाँच चौका हिर्काइन्। पूर्वकप्तान रुबिनाले २० रन जोड्दा कविता जोशी ७ रनमा नटआउट रहिन्। यसपल्ट पनि नेपालको सुरुआत राम्रो हुन सकेको थिएन।

ओपनरद्वय सम्झना खड्का र ममता चौधरी दोहोरो अंकमा रन जोड्न असफल रहे। यद्यपि, पूजा चम्किएपछि नेपालले राम्रो योगफल बनाएको थियो। नेदरल्यान्ड्सको बलिङमा आइरिस ज्विलिङले चार ओभरमा दुई तथा क्योरोलिन डी लान्गे र हेथर सिगर्सको समान एक विकेट लिए।

प्रकाशित: २४ माघ २०८१ १०:०० बिहीबार

# Nagarik # Shameful defeat of Nepal