खेल

चौथो हारले पनि हतोत्साही छैन टोली

थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपालकी रुबिना क्षेत्री। तस्बिर: क्यान

घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी आई शृंखलमा लगातार चौथो हार सामना गरे पनि नेपाली महिला टोली त्यति हतोत्साहित देखिएको छैन।

आइसिसी टी ट्वान्टी वरीयतामा माथि रहेका थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित शृंखलामा नेपालले मंगलबार चौथो हार सामना गर्‍यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल मंगलबार पनि थाइल्यान्डसँग ५ रनले पराजित भयो। लगातार हार बावजुद नेपाली टोली आत्मविश्वासी देखिएको छ।

विचलित देखिएका छैनन्। त्यसको कारण हो, ब्याटिङमा आएका केही परिवर्तन र तुलनात्मक रूपमा बलिया मानिएका टोलीसँगको प्रतिस्पर्धात्मक नतिजा। नेपालकी पूर्वकप्तान रुबिना क्षेत्री पनि महिला क्रिकेट टोलीमा केही सुधार आएको उल्लेख गर्दै हारले हतोत्साहित नरहेको बताउँछिन्।

सन् २०१८ मा टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली महिला टोलीको पुरानै समस्या हो, खराब ब्याटिङ। राम्रा टोलीसँग नेपालले सय रनको आँकडा पार गर्न मुस्किल नै हुन्थ्यो। तर, पछिल्लो समय त्यो स्थितिमा केही सुधार छ। रुबिना पनि यही पक्षका कारण हारका बावजुद केही खुसी देखिएकी हुन्। तर, उनलाई यो नतिजा पर्याप्त लागिरहेको भने छैन। रुबिनासँगै सीता रानामगर नेपालको ब्याटिङमा लामो समयदेखि भरपर्दा खेलाडी हुन्। यी दुई नचल्दा नेपालको ब्याटिङ धराशयी नै बन्ने गर्दथ्यो। बलिया टोलीविरुद्ध त सय रन कटाउन नै मुस्किल हुन्थ्यो। तर, पछिल्ला समय अवस्था केही फेरिएको छ।

घरेलु मैदानमा जारी शृंखलाका नतिजाले पनि यसलाई पुष्टि गर्छ। किनकि नेपालले प्रतिस्पर्धात्मक खेल खेलेको छ। रुबिनाले पनि सोही कुरा इंगित गर्दै हारबाट विचलित हुनु नपर्ने उल्लेख गरेकी हुन्। ‘अझै केही कमीकमजोरी छन्। केही पक्षमा काम गर्नुपर्ने देखिन्छ। तर, पहिलेभन्दा चाहिँ सुधार भएका छन्। यही टोलीसँग कस्तो क्रिकेट खेल्थ्यौं र अहिले कस्तो भैरहेको नतिजाले देखाएको छ,’ रुबिनाले भनिन्।

रुबिनाले भनेजस्तै थाइल्यान्डसँग सन् २०१९ यता खेलिएका तीनवटा नतिजाले पुष्टि गर्दछ। सन् २०१९ मा थाइल्यान्डमा नै भएको थाइल्यान्ड वुमन्स टी ट्वान्टी स्मासको फाइनलमा नेपाल ७० रनले पराजित भएको थियो।

यस क्रममा नेपाल ५० रनमा अलआउट हुँदा थाइल्यान्डको एक विकेट मात्र निकाल्न सफल भएको थियो। सोही वर्ष नै ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायरमा पनि नेपालले थाइल्यान्डसँग ५७ रनको फराकिलो हार बेहोरेको थियो। यो भेटमा पनि नेपालको कुल योगफल ६७ रन हो।

सन् २०२३ को पछिल्लो भेटमा पनि नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको थियो। यसपल्ट पनि नेपाल ५९ रनमा नै अलआउट भएको तथ्यांक छ। पछिल्ला नतिजा नियाल्दा टोलीमा सुधार आएको देखिन्छ। त्यसैले जारी शृंखलाको प्रदर्शनले केही सकारात्मक सन्देश पक्कै दिएको छ। एकपल्ट विश्वकपसमेत खेलिसकेको थाई टोलीविरुद्ध दुई भेटमा नेपालले सय रनको आँकडा पार गरेको छ ।

लक्ष्य पछ्याउँदा होस् या बलिङमा राम्रो गर्नुले आशा पलाएका छन्। यद्यपि, यो पर्याप्त भने छैन। किनकि जितको सँघारमा पुगेर पनि नेपाल असफल भइरहेको छ। रुबिना यसलाई स्विकार्दै टोलीमा अभैm ‘विजयी भाव’ को कमी देखिएको उल्लेख गर्छिन्।

‘राम्रो खेल्दाखेल्दै पनि विनिङ एटिच्युड देखिएको छैन। राम्रो स्थितिमा हुँदा पनि विनिङ मुमेन्टलाई जारी राख्न सकिरहेका छैनौं। सिनियर खेलाडीका रूपमा यो दुःख लाग्दो पक्ष हो,’उनले भनिन्।

 मंगलबार थाइल्यान्डले नेपालसामु १०७ रनको लक्ष्य दिएको थियो। लक्ष्यनजिक पुगे पनि नेपालले भेट्टाउन भने सकेन। निर्धारित ओभर नै ब्याटिङ गरे पनि नेपाल आठ विकेटको क्षतिमा १०१ रन मात्र जोड्न सफल भयो।

शीर्ष चार ब्याटर सस्तैमा आउट हुँदा नेपाल सुरुमै दबाबमा थियो। ४.२ ओभरमा नेपाल ८÷४ को नाजुक अवस्थामा थियो। तर, पाँचौं विकेटका लागि रुबिनाले पूजा महतोसँग ४४ रनको साझेदारी गर्दै जितको सम्भावना जीवन्त राखिन्। १३औं र १४औं ओभरमा क्रमशः रुबिना २६ रन र पूजा १८ रनमा आउट भए।

फेरि, नेपाल दबाबमा पर्‍यो। यद्यपि, आठौं नम्बरमा ब्याटिङ गर्न आएकी कविता जोशीले ठूलो सट खेल्दै जितको आशा दिलाइन्। किनकि अन्तिम १३ बलमा नेपाललाई १३ रन आवश्यक थियो। तर, १९औं ओभरको अन्तिम बलमा कविता २४ रनमा बाउन्ड्री लाइनमा क्याच भइन्। नेपाल जितनजिक पुगेर पनि चुक्यो। रोमा थापा १९ रनमा नटआउट रहे पनि पर्याप्त भएन।  

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। थाइल्यान्डको सुरुआत पनि राम्रो थिएन र १२.५ ओभरमा ५६÷६ को स्थितिमा थियो। तर, फिल्डिङमा पनि नेपालले लगातार गल्ती गर्दा उसले फाइदा लियो। रुबिना फिटनेसमा राम्रो गर्न नसक्नु पनि हारको कारण मान्छिन्।

‘फिटनेसमा हामी खेलाडीले जसरी इफोर्ट लगाउनु पर्ने हो, त्यो हुन सकेको छैन। फिल्डिङमा गल्ती भैरहेको छ, यो पनि हार कारणमध्ये एक हो,’ उनले भनिन्।

नेपाली यु–१९ टोलीका सदस्य मनीषा उपाध्यायको बलिङमा लगातार उत्कृष्ट प्रदर्शनले नेपाली टोली उत्साहित देखिन्छ। मंगलबार पनि मनीषाले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन्। उनले चार ओभरमा एक मेडन राख्दै १८ रन मात्र दिइन्।

समग्रमा मनीषाको यो सातौं विकेट हो। पूजा र डेब्युटेन्ट रचना चौधरीको नाममा समान एक विकेट रह्यो। अब नेपालले बुधबार नेदरल्यान्डसँग खेल्नेछ। शृंखलामा यो पाँचौं खेल हुनेछ। त्रिकोणात्मक शृंखलामा लगातार चौथो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना भने सकिएको छ।  

प्रकाशित: २३ माघ २०८१ १०:०० बुधबार

# Nagarik