खेल

दक्षिण एसियाली जुडो शनिबारबाट

काठमाडौं – आठौं दक्षिण एसियाली जुडो प्रतियोगिता शनिबार काठमाडौंमा सुरु हुने भएको छ ।

नेपाल जुडो संघले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार तीन दिन चल्ने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानका खेलाडीहरूको सहभागिता रहनेछ।

अर्को दक्षिण एसियाली देश माल्दिभ्सले भने च्याम्पियनसिपमा सहभागिता नजनाउने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले बताए।

पुरुष र महिला एकलतर्फ ७–७ स्वर्ण, ७÷७ रजत, १४–१४ कांस्य तथा पुरुष र महिला टिम इभेन्ट्समा समान १–१ स्वर्ण र रजत, २–२ कांस्य गरी ६४ पदकका लागि १ सय २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

 ‘ओलम्पिकमा सहभागिता लागि वाइल्ड कार्ड नभईकन छनोट हुने लक्ष्यसाथ तयारीमा छौं।’

प्रतियोगितामा पुरुषतर्फ ६० केजीमुनि, ६६ केजीमुनि, ७३ केजीमुनि, ८१ केजीमुनि, ९० केजीमुनि, १०० केजीमुनि र १०० केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि, ७८ केजीमुनि र ७८ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। खेल अन्तर्राष्ट्रिय नियमअनुसार ४–४ मिनेटको समयमा खेलाइनेछ।

प्रतियोगितामा नेपालको तर्फबाट एसियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले सहभागिता जनाउने महासचिव श्रेष्ठले जानकारी दिए । ‘ओलम्पिकमा सहभागिता लागि वाइल्ड कार्ड नभईकन छनोट हुने लक्ष्यसाथ तयारीमा छौं’ अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो उद्देश्य एसियाली खेलकुदमा पदक ल्याउने र सागमा स्वर्ण पदक जित्ने हो । त्यही लक्ष्यको तयारीस्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।’

करिब ५० लाख रुपैयाँ खर्च लाग्ने च्याम्पियनसिपका लागि  राखेपले २० लाख, अन्तर्राष्ट्रिय जुडो महासंघ र एसियाली जुडो महासंघले १०–१० लाख सहयोग गर्ने संघले जानकारी दियो।

दक्षिण एसियाली जुडो संघको नियमित कार्यक्रमअन्तर्गत नेपाल जुडो संघले चौथो पटक नेपालमा दक्षिण एसियाली स्तरको च्याम्पियनसिप गर्न लागेको हो।

प्रकाशित: ५ वैशाख २०७५ ०३:३५ बुधबार

दक्षिण एसियाली जुडो शनिबारबाट