खेल

हर्षको अग्रता

काठमाडौं – अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर खुला बुद्धिचाल प्रतियोतिगामा सोमबार आठौं चरणका खेल सकिँदा भारतका हर्ष बर्थकोटीले आफ्नै देशका दीपसेन गुप्तालाई हराउँदै ७ अंकको एकल अग्रता हासिल गरेका छन्।

बुढानीलकण्ठस्थित पार्क भिलेजमा भएको खेलमा युक्रेनका तर्लेभ कन्स्टेन्टिन र अजरबैजानका मिर्जोभ अजरबीचको खेल बराबरीमा सकिएपछि दुवै ६.५ अंकसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन्।

भारतीय खेलाडी श्रीजित पाटिललाई हराएका इजरायलका ग्रिनफिल्ड अलोन र आफ्नै देशका सप्तोषी गुप्तालाई पराजित गर्ने भारतीय हिमाल गोसाईं पनि ६.५ अंकसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् । भारतकै पी श्यामनिखिलले पनि ६.५ अंक जोडेका छन्।

नेपालको शीर्ष वरीयताका विवेक थिङ ६ अंकसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् । आठौं चरणमा उनले भारतीय खेलाडी शुभम शुक्लालाई हराए । सातौं चरणमा उनले नेपालकै पुरुषोत्तम चौलागाईंलाई पराजित गरेका थिए।

आठौं चरणमा बराबरी खेलेका रूसका दुई ग्रान्डमास्टरहरू फोमिनी अलेक्जान्दर र भोल्कोभ सर्गेई दुवैको ६ अंक छ।
भारतीय खेलाडी जिबी हर्षवर्धन र प्रिन्स बजाजको पनि ६ अंक भएको छ । नेपालका क्यान्डिडेट मास्टर नवीन तण्डुकार भारतीय खेलाडी कौस्तुभ कुण्डुसँग पराजित भए । कुण्डुको ६ अंक छ । त्यस्तै भारतकै नीलेश साहको पनि ६ अंक छ।

नेपाली फिडे मास्टर रूपेश जयसवालले भारतीय खेलाडी प्रतीक पाटिलसँग बराबरी खेले । सातौं चरणमा रूपेशले भारतीय खेलाडी स्यान्तान चन्द्रालाई हराएका थिए । नवौं चरणको खेलअघि रुपेशको ५.५ अंक भएको छ।  

आठौं चरणमा नेपाली खेलाडी सुश्रुत दाहालले भारतीय इन्टरनेसनल मास्टर अनुप देशमुखलाई पराजित गरे । नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले भारतीय खेलाडी भाग्यश्री पाटिललाई हराए । सुश्रुत र मदनकृष्ण दुवैको ५.५ अंक भएको छ । सातौं चरणमा दाहालले आफ्नै देशका मनीष हमाल र कायस्थले भारतीय खेलाडी सुदर्शन माल्गालाई पराजित गरेका थिए।

गत साता सम्पन्न सहकारी कपका विजेता क्यान्डिडेट मास्टर केशव श्रेष्ठ भारतीय खेलाडी शुभ्रदिप्ता दाससँग पराजित भए भने बद्रीलाल नेपाली भारतीय फिडेमास्टर सी लक्ष्मीसँग पराजित भए।

बंगलादेशी फिडेमास्टर अब्दुल मोहम्मदले भारतीय खेलाडी स्यान्तान चन्द्रालाई पराजित गरे । उनको ५ अंक भएको छ । रोमानियाली इन्टरनेसनल मास्टर लामी एलिनाले नेपाली खेलाडी पुण्यमान कर्माचार्यलाई हराइन्।

प्रकाशित: ४ वैशाख २०७५ ०४:१८ मंगलबार

हर्षको अग्रता