खेल

पीएम कप महिला क्रिकेट : उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्ने

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।  

सुपर फोरअन्तर्गत शुक्रबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ६९ रनले पराजित गर्दै एपीएफ र बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरले फाइनलमा स्थान बनाएका हुन्। जारी प्रतियोगितामा अपराजित रहेको एपीएफको सुपर फोरमा ६ अंक रह्यो भने सुदूरले २ अंकमात्र जोड्यो। आर्मी र बागमतीसँग समान २ अंक भएपनि रनरेटमा अघि रहँदै सुदूरले उपाधि यात्रा तय गरेको हो।  

एपीएफ र सुदूरपश्चिम समूह ए बाट तथा आर्मी र बागमती प्रदेश समूह बीबाट सुपर फोरमा पुगेका थिए। सुपर फोरमा बागमती जितविहीन भयो भने समूहचरणमा बागमतीसँग बेहोरोको हार सुपर फोरमा आर्मीका लागि घातक बन्यो। बिहीबार भएको खेलमा एपीएफले बागमतीलाई र आर्मीले सुदूरपश्चिमलाई हराएका थिए।  

धनगढीको फाप्ला क्रिकेट मैदानमा हुस्सुका कारण १७ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमात्र बनाउन सक्यो। राधिका पुजाराले १७ र क्याप्टेन लक्ष्मी साउदले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।  

एपीएफका लागि रेखा रावलले ४, सबनम राईले २ र इन्दु बर्माले एक विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। उसका लागि राजमती ऐरीले ३५ र कविता जोशीले नटआउट ३४ रन बनाइन्। क्याप्टेन इन्दु बर्मा १८ रनमा नटआउट रहिन्।  

अर्को खेलमा सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा अलआउट भयो। यशोदा बिष्टले ३० र हेलिशा गुरुङले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। सुदूरले १५ रन अतिरिक्त दिएको थियो।  

बागमतीलाई सस्तैमा समेट्न कविता कुँवर र करिष्मा थापाले समान २ तथा आशिका महरा र रितु कनौडियाले समान एक विकेट लिए।  

पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११२ रनको योगफल तयार पारेको थियो। सुदूरका लागि रितु कनौडियाले ३४ रन बनाइन्। बागमतीका बलरले ३२ रन अतिरिक्त दिएका थिए।  

मनिषा उपाध्याय र सोनु खड्काले समान ३ विकेट लिएपनि बागमतीको हार भने टार्न सकेनन्।  

फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित: ११ माघ २०८१ १८:४० शुक्रबार

#PM Cup Cricket