खेल

सभापति कपमा चर्च ब्वाइजमाथि संकटाको सहज जित

संकटा क्लवले शुक्रबार चर्च ब्वाइज क्लबमाथि सहज जित निकाल्दै सभापती फुटबल प्रतियोगितामा सुखद् सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइजमाथि ३–० को सहज जित निकालेको हो।

संकटाको जितमा अबेक रिचार्डले दुई तथा चन्दन दासले एक गोल गरे। संकटाले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल थपेको हो।

त्यसअघि संकटाले सुरुआती अग्रता लिएको थियो। २२ औं मिनेटमा अबेक रिचार्डको गोलबाट अग्रता लिएको हो।

बोटेङ इमान्युलले मध्य भागबाट दिएको पास सदुपयोग गर्दै अबेकले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै गोल गरेका हुन्। पहिलो हाफमा थप राम्रा अवसर सिर्जना हुन सकेनन्। त्यो गोलले नै संकटाले पहिलो हाफमा १–० को अग्रता बनायो।

दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५७ औं मिनेटसम्म कुर्नुपर्‍यो। चर्च ब्वाइजका अबयोमी ओलुवासिनको खेलमा फर्कन सुन्दर अवसर खेर फाले।

राइट साइडबाट आशिष राईको पास नियन्त्रणमा लिएका अबयोमीले संकटाका गोलकिपर दीप कार्कीसँग वान भर्सेस वानमा गोल गर्न सकेनन्। ६४औं मिनेटमा चर्च ब्वाइजको अर्को प्रयास सफल भएन।

चर्च ब्वाइजका रोहन कार्कीले लामो सट प्रहार गरे पनि संकटाका गोलकिपर दीप बाधक भए। तर ७० औं मिनेटमा संकटाले अवसर सदुपयोग गर्दै अग्रता दोब्बर बनायो। श्रृजन क्षेत्रीले लेफ्ट साइडबाट उपलब्ध पेनाल्टी बक्समा दिएको बल सदुपयोग गर्दै अबेकले वान टचमा गोल गरे।

तीन मिनेटपछि नै संकटाले अग्रता ३–० मा पुर्‍याए। चर्च ब्वाइजका गोलकिपर क्रिसल मोक्तानले नियन्त्रणमा लिन नसकेको बललाई संकटाका चन्दन दासले नजिकै दूरीबाट वान टच गरेका हुन्।

लेफ्ट साइडबाट श्रृजन क्षेत्रीले गरेको क्रस बल रोक्न क्रममा चर्च ब्वाइजका गोलकिपर क्रिसलले हातबाट फुत्काए। लगत्तै पेनाल्टी बक्समा रहेका चन्दनले वान टचमा बललाई जाली चुमाएका हुन्।

अतिरिक्त समयमा चर्च ब्वाइजले केही प्रयास गरे पनि सफल भएन। त्यसपछि थप गोल निस्किएन र संकटाले ३–० को जित निकाल्यो । संकटाका अबेक रिचार्ड प्लेअर अफ दी म्याच घोषित भए। 

त्यसअघि प्रतियोगिताको नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटनले गरेका थिए। यस प्रतियोगितामा एक आयोजकसहित सात वटा ‘ए’ डिभिजन क्लबले प्रतिष्पर्धा गरिरहेका छन्।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १० माघ २०८१ २०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App