खेल

एन्फा महिला लिग: मुस्किलले जित्यो एपिएफले

आकलन यसरी नै गरिएको थियो-साबिक विजेता एपिएफले आफ्नो प्रभुत्व कायम राख्दै एन्फा महिला लिगअन्तर्गत फाइनल चरणका सबै खेलहरू सहजै जित्नेछ। अघिल्ला सात खेलले पनि यही कथा लेखेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगितामा अन्य टोलीहरू एपिएफसामु निरीह थिए।

तर, बुधबारको विभागीय डर्बीले भने फरक कथा लेख्यो। त्रिभुवन आर्मी क्लबसँग भएको भेटमा एपिएफले पहिलो पटक चुनौतीको सामना गर्‍यो। यो खेल एकतर्फी मात्र नभएर रोमाञ्चक बन्यो, जहाँ अन्ततः नतिजा एपिएफको पक्षमा २–१ ले रह्यो।

खेल सुरु भएदेखि नै मैदानमा उत्साहपूर्ण माहोल थियो। एपिएफले आफ्नो सशक्त प्रदर्शनको झलक देखाउँदै खेलको २३औं मिनेटमै रश्मिकुमारी घिसिङको गोलमार्फत सुरुआती अग्रता लियो। यो गोल हुन नपर्ने थियो। तर, खराब मार्किङका कारण एपिएफको गोल सम्भव भएको हो।

प्रीति राईले पेनाल्टी बक्सनजिकबाट फ्रिकिक प्रहार गर्दा रश्मिलाई पछाडि साइडबाट आर्मीका दुई डिफेन्डरले मार्क गरिरहेका थिए। त्यस बेला उनलाई अगाडिबाट मार्क गरेको भए त्यो गोल टर्न सक्थ्यो। त्यसैको फाइदा उठाउँदै रश्मिले लिगको ३३औं गोल पूरा गरिन्। त्यसपछि अर्को गोल थप्न एपिएफलाई १५ मिनेट कुर्नुपर्‍यो। यसपल्ट भने रश्मिकै पासमा अनिता केसीले गोल गरेकी हुन्। २–० को नतिजा फुटबलमा आरामदायी अग्रता मानिन्छ। तर, उक्त अग्रता लिएपश्चात् आर्मीले पुनरागमन गर्ने प्रयास मात्रै गरेन, एपिएफलाई दबाबमा राख्न सफल भयो।

दोस्रो हाफमा आर्मीले अझै आक्रामक खेल प्रस्तुत गर्दै खेललाई थप प्रतिस्पर्धात्मक बनाएको हो। तर, गोल भने निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा मात्रै निस्कियो। त्यसमा सावित्री कसिनको किपिङ निकै खराब देखियो। उनले अगाडि बढेर बल नियन्त्रमा लिने प्रयास गरेकी थिइन्। त्यसैको फाइदा उठाउँदै अमीषा कार्कीले उनी नजिकबाटै हेडरमा गोल गरेकी हुन्। यो गोलसँगै आर्मी एक समय खेलमा फर्किने अवस्थामा थियो। तर, त्यसपछि एपिएफका डिफेन्डर लगातार बाधक बनिरहे।

एपिएफले यो जित निकालेर आफ्नो विजययात्रालाई निरन्तरता दिए पनि टोलीमा कमजोर पक्ष धेरै रहेको देखिएको छ। मैदानमा प्रतिस्पर्धात्मक खेलको यो कथा अब लिगभरि सुनिनेछ। यसले नयाँ उत्साह थपेको छ। अघिल्ला खेलमा ३–१ को नतिजा सुम्पिएको आर्मीले सीधै फाइनल प्रवेश गर्न एपिएफसँगै प्रतिस्पर्धा गर्नेछ। यो खेलको नतिजाले त्यो पहिलो क्वालिफायर थप प्रतिस्पर्धा र रोमाञ्चक हुने आशा गर्न सकिन्छ।  

प्रकाशित: १० माघ २०८१ १०:२९ बिहीबार