खेल

यू-१९ महिला विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

मलेसियामा जारी यू-१९ महिला विश्वकपमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।  

युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको हो ।  

१४ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै केमी ब्रे र लियोनर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे । केमी ४५ रनमा रिया शर्माको बलमा सिमाना केसीद्वारा क्याच आउट भइन् । 

लियोनरले ३१ रन बनाइन् । हसरत गिल ३० र क्लोइ एन्सवर्थ १६ रनमा नटआउट रहे । उनीहरुले सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे । नेपाली बलरले अन्तिम २ ओभरमा २९ रन दिएका थिए । 

नेपालका लागि क्याप्टेन पूजा महतोले ३ विकेट लिइन् । अस्ट्रेलियाकी क्याप्टेन लुकी हेमिल्टनलाई डकआउट गराएकी पूजाले इन्स म्याककियोनलाई ८ र केट पिलेलाई ३ रनमा पवेलियनको बाटो देखाइन् । पूजाले आफ्नो स्पेलमा ३१ रन खर्चिन । सिमाना केसीले दुई विकेट लिइन् । 

सुरुवाती दुवै खेल हारेको नेपाल सुपर सिक्सको सम्भावना कायमै राख्न नेपाल जित्नै पर्ने दबाबमा छ । अस्ट्रेलियासँग पराजित भए नेपाल अंकविहीन हुँदै घर फर्कनेछ । जितले भने उत्कृष्ट तेस्रो हुँदै सुपर सिक्समा पुग्ने सम्भावना कायम रहनेछ ।  

सुरुवाती दुवै खेल जितेर अस्ट्रेलिया नेपालविरुद्धको खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ । 

प्रकाशित: ९ माघ २०८१ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App