खो खो विश्वकपमा ऐतिहासिक सफलता हात पार्दै उपविजेताको उपाधि जितेको नेपाली पुरुष र महिला टोली सोमबार स्वदेश फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरुले ‘पदक ल्याउने अठोटअनुरूप मेहनत गर्दा सफलता हात परेको’ बताए।
उनले विश्वकपमा पदक जित्दै देशको गौरव बढाउन पाउँदा आफू अत्यन्त उत्साहित भएको उल्लेख गरे। साथै, खेल सुरु हुनुअघि खेलकुद निकायसँग गरिएको प्रतिबद्धता अनुसार मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको प्रतिक्रिया दिए।
पनेरुले यसअघि १३ औं साग र एसिया च्याम्पियनसिपमा पदक जितिसकेको स्मरण गराउँदै, संघको लगानीले खेलाडीलाई अझ प्रेरित बनाएको बताए।
नेपाली महिला टोलीकी कप्तान सरस्वती कठायतले फाइनलसम्मको यात्रा ऐतिहासिक रहेको बताइन्। उनले भनेकी छिन्, ‘टिमले एकजुट भएर खेल्दा यो सफलता सम्भव भयो। प्रशिक्षक र व्यवस्थापकको अथक प्रयासकै कारण उपविजेताको स्थान हासिल गर्न सकेका हौं।’
महिला टोलीले अपराजित यात्रामा फाइनलसम्मको स्थान सुरक्षित गरे पनि आइतबार भारतसँग ७८–४० को हार व्यहोर्नु परेको थियो। पुरुष टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा भारतसँग ५४–३६ को हार बेहोरेको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले संघले तयार पारेको खर्च योजनालाई स्वीकृत गर्दै खेलाडीको प्रशिक्षणका लागि आवश्यक सहयोग प्रदान गरिएको बताए। उनले आगामी दिनमा पनि खेलको प्रवर्द्धनका लागि आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, ‘खेलकुद विकास नियमावली २०७९ अनुसार पदक विजेताले छिट्टै पुरस्कार पाउनेछन्। संघले १५ दिनभित्र कागजात पेश गरेपछि प्रक्रिया सुरु हुनेछ।’
नेपाली टोलीका प्रशिक्षक कयामोदिन मन्सुरले एक महिनाको बन्द प्रशिक्षणले टोलीलाई ऐतिहासिक सफलता दिलाएको उल्लेख गरे। तर, खो खो खेलका लागि प्रशिक्षक र पूर्वाधारको अभावका कारण खेलाडी उत्पादनमा चुनौती रहेको बताए। अर्का प्रशिक्षक विकीराज महर्जनले भने, ‘खेलाडीलाई अझ धेरै प्रतियोगितामा सहभागिता र एक्सपोजर आवश्यक छ। यसले उनीहरूको प्रदर्शनलाई अझ सशक्त बनाउँछ।’
पहिलो पटक आयोजित खो खो विश्वकपमा महिलातर्फ १९ र पुरुषतर्फ २० राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। नेपालले फाइनलसम्मको यात्रा तय गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साल, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव घिसिङ, र अन्य पदाधिकारीहरूले बाजागाजासहित स्वागत गरेका थिए। यो सफलता नेपाली खेलकुदका लागि ऐतिहासिक उपलब्धि हो।
प्रकाशित: ७ माघ २०८१ २०:५४ सोमबार