नेपाल विद्यार्थी संघको आयोजनामा सोमबारबाट जय नेपाल कप सुरु भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पूर्व राष्ट्रपति रामवरण यादवले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल त्रिभुवन विश्वविद्यालय र भारतको बिहारस्थित बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिच सम्पन्न भएको छ । जसमा त्रिभुवन विश्वविद्यालयले ८ विकेटले जित निकालेको छ ।
पहिले ब्याटिङ गरेको अम्बेडकर विश्वविद्यालयले १७.३ ओभरमा अलआउट हुँदै १३४ रन जोडेको थियो । जसमा विशाल राजले ४२, इमरान हासमीले ४१ रन बनाएका थिए ।
१३५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको त्रिभुवन विश्वविद्यालयको टोलीले लोकेश बमले ३५ बलमा बनाएको ८९ रनको मद्दतले १५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ।
प्रतियोगितामा नेपाल, बांग्लादेश र भारतका ८ विश्वविद्यालयका टिमको सहभागिता छ।
प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतको उपस्थिति थियो ।
प्रकाशित: ७ माघ २०८१ १७:०९ सोमबार