खेल

राष्ट्रिय विच भलिबलको दुवै उपाधि पुलिसलाई

उपाधि विजेता नेपाल पुलिस क्लबका महिला र पुरुष जोडी। तस्बिर: ध्रुव/नागरिक

सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको दुवै विधाको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

पर्यटकीय नगरी सुकुटेको सुनकोसी नदी बगरमा शनिबार भएका फाइनल खेल जित्दै पुलिसका महिला तथा पुरुष जोडीले उपाधि हात पारेका हुन्।

महिलातर्फ पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलमा पुलिसकै पुनम चन्द र कामना बिष्टको जोडीलाई २१–१९ र २१–१० को सोझो सेटले पराजित गर्‍यो। एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडी तेस्रो बन्दा एपिएफकै रस्मिता दुरा र जस्ना महतोको जोडीले सान्त्वना स्थान हासिल गर्‍यो।

पुरुषतर्फ फाइनलमा पहिलो सेट गुमाएको पुलिसका चन्द्र कुँवर र सफल बिकको जोडीले एपिएफविरुद्ध पुनरागमन जित निकाल्दै उपाधि चुम्यो।

एपिएफएका रमेश बिक र बलिराम चौधरीको जोडीलाई पुलिसका यो जोडीले २१–१८, १४–२१ र ८–१५ ले हरायो। त्रिभुवन आर्मी क्लबका टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो हुँदा एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले सान्त्वना पुरस्कार जित्यो। 

प्रतियोगिताको विजेता, उपविजेताले ५० र २५ हजार रुपैयाँ पुरस्कार हात पार्दा तेस्रो र चौथो स्थान हासिल गर्ने जोडीले क्रमशः १५ र १० हजार नगद पाए। पुलिसका कमला पुन र सफल बिक प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनीहरुले ट्रफीका साथमा जनही नगद ५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

विजेता खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे। सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघको आयोजना तथा व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गरेको थियो।

प्रतियोगितामा ६ प्रदेश र तीन विभागीय टोलीका महिला, पुरुष गरी ३५ जोडीले भाग लिएका थिए। पाँच दिन चलेको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताका दुवै विधाका विजेता र उपविजेता टोलीले सन् २०२५ भरि हुने अन्तर्राष्ट्रियस्तरको काभा विच भलिबल प्रतियोगितामा भाग लिने जानकारी दिए। 

आयोजक सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाउँदै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रकाशित: ५ माघ २०८१ १८:२२ शनिबार