नेपालय पब्लिक र लिभिङ वर्डले ११औं इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्।
अत्तरखेलस्थित नेपालय पब्लिक स्कुलमा सम्पन्न प्रतियोगितामा लिभिङ वर्ड बोइजमा र नेपालय गर्ल्समा च्याम्पियन भए। बोइजको फाइनलमा लिभिङ वर्डले होली एन्जल्सलाई १–० गोलले पराजित गर्यो। झुमिक लोमीले निर्णायक गोल गरे।
माउन्ट एभरेष्ट नेपालयलाई १–० गोलले हराउँदै तेस्रो भयो। संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको गर्ल्सको फाइनलमा नेपालयले सुनौलो भविष्यमाथि ५–० को सहज जित निकाल्यो। विनु मगरले ह्याट्रिक पूरा गर्दा मनीषा सुनुवारले दुई गोल थपिन्। लिभिङ वर्ड अल्माइटी मोडललाई हराउँदै तेस्रो भयो।
बोइजमा लिभिङ वर्डका सुन्दर गुरुङ उत्कृष्ट खेलाडी, लिभिङ वर्डका ग्याट्सो गुरुङ सर्वाधिक गोलकर्ता (५ गोल), होली एन्जल्सका सन्देश थिङ उत्कृष्ट डिफेन्डर तथा लिभिङ वर्डका फिलिप लोमी उत्कृष्ट गोलरक्षक बने।
गर्ल्समा नेपालयकी मनीषा सुनुवार उत्कृष्ट खेलाडी, नेपालयकी शिखा शाह उत्कृष्ट डिफेन्डर, लिभिङ वर्डकी सलोनी राई उत्कृष्ट गोलरक्षक र नेपालयकी विनु मगर (७ गोल) सर्वाधिक गोलकर्ता भए।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, प्रतियोगिता संयोजक एवं नेपालयका निर्देशक बुद्ध श्रेष्ठ, इसानका पूर्वअध्यक्ष बालमुकुन्द कार्कीलगायतले पुरस्कृत गरे। पाँचदिने नकआउट प्रतियोगिताको बोइजमा १६ तथा गर्ल्समा १० टिमले प्रतिस्पर्धा गरेको इसानका सहकोषाध्यक्ष गुरूप्रसाद लुइटेलले जानकारी दिए।
प्रकाशित: ५ माघ २०८१ ११:३९ शनिबार