खेल

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट स्वीकृत

कर्णाली प्रदेशमा आगामी चैतको अन्तिम सातादेखि सुरु हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकबाट स्वीकृत भएको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको राखेपको ११९औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको लोगो र मस्कट स्वीकृत गरेको हो। सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा मुख्य सात अजेन्डासहित राखेपको बोर्ड बैठक बसेको थियो। यद्यपि, उक्त बैठकबाट स्वीकृत लोगो र मस्कट सार्वजनिक भने गरेको छैन।

आगामी चैत २३ देखि  २९ गतेसम्म कर्णाली प्रदेशमा दसौं खेलकुद हुने तय छ। यद्यपि, बैठकले ६० दिन बाँकी छँदा मात्र दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐनभन्दा बाहिर रहेर निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) र त्यसमा सहभागी खेल संघमाथि कारबाही यसै बोर्ड बैठकले गर्ने चर्चा चलेको थियो।

म्याद सकिँदासम्म निर्वाचन नगरेका सात वटा खेल संघ विघटन र केही संघका पदाधिकारीमाथि कारबाही गरिन सक्ने आकलन गरिएको थियो। त्यसैले खेलकर्मीले राखेको यस बोर्ड बैठकलाई महत्त्वका साथ प्रतीक्षा गरेका थिए। यद्यपि, बिहीबार बसेको बोर्ड बैठकले चर्चा चलेअनुरूप निर्णय भने गरेन। यद्यपि, एनओसीको चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ।

ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेपसमक्ष उचित कारण र आधारबिना पेस गरेका स्पष्टीकरणबारे थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले उल्लेख गरेका छन्।

 उक्त बैठकमा कर्मचारी बढुवा अनुमोदन, खेलकुद विकास नियमावली र भौतिक पूर्वाधार परिचालनबारे छलफल हुने भन्दै राखेपका बोर्ड सदस्यलाई पत्र पठाइएको थियो। तर, बोर्ड बैठकमा त्यसबारे छलफल हुन नपाएको राखेपका एक सदस्यले जानकारी दिए।

प्रकाशित: ४ माघ २०८१ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App