खेल

नेपाल कबड्डी लिगलाई ७५ लाखको प्रायोजन

पहिलोपल्ट हुन लागेको कबड्डी खेलको फ्रेन्चाइज प्रतिस्पर्धा नेपाल कबड्डी लिग (एनकेएल) ले मुख्य प्रायोजकका रूपमा केबी सामको साथ पाएको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजना हुने एनकेएल अब ‘केबी साम नेपाल कबड्डी लिग’ को नामले आयोजना हुने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत केबी साम र एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टबीच सम्झौता भएको हो।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रूपेश थापाले टाइटल स्पोन्सरको सम्झौतापत्रमा हस्ताक्षर गरे। आल्मुनियम उत्पादक कम्पनी केबी साम र एनकेएलबीचको सम्झौता तीन वर्षको हो। सम्झौताअनुसार केबी सामले वार्षिक ७५ लाख रूपैयाँ एनकेएललाई दिनेछ। नेपाली खेलकुद इतिहासकै यो रकम चौथो ठूलो प्रायोजन हो। त्यस्तै केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ।

‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ। कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवद्र्धनमा पनि साथ दिनेछ। त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ,’ केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रूपेश थापाले भने।

पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदै छ। एनकेएलमा ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले राउन्ड रोबिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गनेछन्।

एनकेएलको पूर्वसन्ध्यामा प्रशिक्षण

केबी साम एनकेएलको पूर्वसन्ध्यामा बुधबारै नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गरेको छ।

कार्यक्रममा एनकेएलका टेक्निकल डिइरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिएका थिए। उनी भारतको प्रो कबड्डी लिगका पनि टेक्निकल डिइरेक्टर हुन्।

अखिल नेपाल कबड्डी संघका सचिव तर्कराज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताएका थिए। नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोकामगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन्। उनले यो सिजनको प्रो कबड्डी लिग हरियाणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए। एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन्।

थाइल्यान्ड र बाङ्लादेशका समान ६, श्रीलंकाका र केन्याका समान ३ जना छन्। हरेक टिममा १४ खेलाडी छन्। एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: ३ माघ २०८१ १०:३८ बिहीबार

# Nepal Kabaddi League