खेल

जय ट्रफी फाइनल: खराब मौसमका कारण पहिलो दिनको खेल रोकियो

वीरगन्जमा मङ्गलवारबाट सुरु भएको जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेल ‘ब्याड वेदर’(खराब मौसम)का कारण रोकिएको छ । ढिलो गरी सुरु भएको खेलमा मौसम नसुध्रिएपछि १७ ओभर मात्रै खेल भएर पहिलो दिनको खेल सकिएको हो । 

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच यो फाइनल खेल भइरहेको छ । लिग चरणमा दुई दिवसीय भएका जय ट्रफीको फाइनल खेल भने तीन दिवसीय चल्नेछ । 

फाइनल खेलमा टस जितेर आर्मी क्लबले पहिले फिल्डिङ रोजेको थियो । खेल सकिदा अनुभवी ओपनर ब्याटर कुशल भुर्तेलले अर्ध शतक प्रहार गरेपछि पुलिस क्लबले २ विकेट गुमाएर ८५ रन जोडेको छ । जुन सन्तुलित अवस्था मान्न सकिन्छ ।

कुशलले ५१ बलको सामना गर्दै ६ चौकाको मद्दतले ५० रन जोडेका छन् । अर्का ओपनर दिलीप नाथ भने शून्य रनमै आउट भएका थिए । 

यस्तो तेस्रो क्रममा ब्याटिङमा आएका अमित श्रेष्ठले २० रनको योगदान दिँदै आउट भए । त्यसपछि मैदानमा ओर्लिएका अर्जुन साउदले १३ बलको सामना गरी खाता खोलेका छैनन्। 

आर्मीका तर्फबाट सोमपाल कामी र साहब आलमले एक एक विकेट लिएका छन् ।

प्रकाशित: १ माघ २०८१ १६:२४ मंगलबार

#Jaya Trophy