खेल

स्ट्रिट डिफेन्समा विजय र नितेशबिच भिडन्त

प्रतियोगिता उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी। तस्बिर: नागरिक

नेपालका विजय थापा र नितेश कठायतले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा विजय र नितेशले पुरुष ५० केजीमुनि तौलसमूहको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन्।

नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। जहाँ हरेक तौलसमूहमा नेपालका तीन खेलाडीको चुनौती रहेको छ।

सेमिफाइनलमा विजयले सञ्जय दनुवार र नितेशले केशव पुजारालाई हराए। यस प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।

टोखा नगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक पनि हो। पुरुष ६० केजीमुनि अल्ताब दनुवार र नरेन्द्र दनुवारले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। अल्ताबले अर्जुन परियारलाई र नरेन्द्र दनुवारले अमित थापालाई हराए। पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई हराउँदै फाइनल यात्रा तय गरे। यस प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा कुल ७० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रत्येक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए। प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रूपैयाँ रहेको उनको भनाइ छ। प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो र पोल्यान्डका माइकल जाप्लाका साथै दक्षिण एसियाली राष्ट्रका निर्णायकले प्रतियोगिता खेलाएका छन्।  

प्रकाशित: २८ पुस २०८१ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App