१३औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता बक्सर ललिता महर्जनलाई शनिबार नगदसहित सम्मान गरेको छ।
कमला कार्की स्मृति प्रतिष्ठानले नैकापस्थित ब्राइट फ्युचरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो। कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा हरेक वर्षझै प्रतिष्ठानले खेल क्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउने र चन्द्रागिरी नगरपालिकामा बसोवास गर्ने व्यक्तिलाई सम्मान गर्ने गरेको छ।
ललिताले १३औं सागमा ४८ केजी तौलसमूहकी पदक विजेता हुन्। सागबाहेक उनले तीन अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलेकी छन्। घरेलु प्रतियोगितामा नेपाल आर्मीको प्रतिनिधित्व गर्ने ललिता पनि चन्द्रागिरी नगरपालिकाकी बासिन्दा हुन्।
ललितालाई १५ हजार एक रूपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो। सोही अवसरमा प्रतिष्ठानले पत्रकार पुष्पा शर्मा, सामाजिक अभियन्ता एलिना महर्जन, वडा–१५ की ज्येष्ठ नागरिक वृद्धा ९१ वर्षीया वेली वेल्वासे र वडा १४ की ज्येष्ठ नागरिक ९६ वर्षीया धनमाया श्रेष्ठलाई पनि समान नगदसहित सम्मान गरिएको थियो।
त्यसै अवसरमा लोक वाजा संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको वन्थः चा मिसा पुचः लाई पनि प्रशंसा पत्रसहित एक लाख १ रूपैयाँसहित सम्मान गरिएको थियो। उनीहरूलाई आमाको घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्वखेलकुद मन्त्री रमा आले, बागमती प्रदेशका सांसद केशव पोखरेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीलगायतले सम्मान गरे।
कमला कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीकी आमा हुन्। उनको २०७२ सालमा निधन भएको थियो। त्यसै वर्ष उनका छोरा मोहनकुमार कार्कीले आमाको नाममा प्रतिष्ठान स्थापाना गरेका थिए।
प्रकाशित: २८ पुस २०८१ ०९:५५ आइतबार