खेल

एन्फा महिला लिग : सुपर लिगमा बागमतीको पहिलो जित, वालिङको चौथो हार

शनिबार एपीएफ र आर्मी भिड्ने

एन्फा महिला लिगको सुपर चरणमा बागमती युथ क्लबले पहिलो जित दर्ता गरेको छ ।  

लगातार तेस्रो हारपछि शुक्रबार बागमतीले स्याङ्जाको वालिङ नगरपालिकालाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको हो । वालिङको भने यो लगातार चौथो हार हो । वालिङले चौथो खेलसम्म पनि कुनै गोल गर्न सकेको छैन भने २८ गोल खाएको छ ।  

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा बागमतीले सुधारिएको  खेल पस्कियो । अस्मिता खवासले गोल गर्दै बागमतीलाई अग्रता दिलाइन् । क्याप्टेन विष्णुमाया बलले गोल गरेपछि बागमती २० को अग्रता बनाउन सफल भयो । त्यसपछि गोल हुन सकेन र बागमतीले पहिलो जित दर्ता गर्यो ।  

लिगमा शनिबार विभागीय डर्बीमा बलियो सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।  

५ टोली सहभागी सुपर चरणमा जित निकाल्दै बागमतीले प्लेअफमा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । हारले वालिङको सम्भावना भने कमजोर बनेको छ । विभागीय टोलीहरु एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब  भने जारी लिगमा बलिया छन् ।

प्रकाशित: २६ पुस २०८१ १८:१४ शुक्रबार

#ANFA MAHILA LEAUGE