एन्फा यू१६ युथ लिगको पछिल्लो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाईज युनाइटेडलाई ३-२ र थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २-१ गोलले पराजित गरेको हो ।
एपीएफविरुद्धको खेलमा अग्रता भने २४ औं मिनेटमा सनिङ मगरको गोलबाट चर्च ब्वाइजले लिएको थियो । पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा लय गुमाउँदा चर्च ब्वाईज हार भोग्न बाध्य भयो ।
दोस्रो हाफको पाँचौ मिनेटमा किपरलाई बिट गराउँदै एपीएफले बराबरी गोल फर्काएको थियो । पुनः चर्चले अग्रता बनायो । तर ६६औं मिनेटमा अभिन बस्यालले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए । तर ८३ औं मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोलको उपहार दिएपछि एपीएफ अग्रता बनाउन सफल भयो । सोपछि गोल हुन सकेन र खेल एपीएफले ३-२ ले जित्यो ।
एन्फा मैदानमै भएको अर्को खेलमा भने थ्रीस्टारले हिमालयन शेर्पालाई २-१ गोलले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ४७औं मिनेटमा अमिर तामाङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । तर ६१ औं मिनेटमा राज बमले गोल गर्दै खेल बराबरीमा ल्याए ।
६८औं मिनेटमा भुपेन्द्रबहादुर रावतले गोल गरेपछि थ्रीस्टार खेलमा अग्रता बनाउन सफल भयो । सो पछि गोल हुन सकेन र थ्रीस्टारले साँधुरो जित निकाल्यो ।
प्रकाशित: २६ पुस २०८१ १४:३३ शुक्रबार