आगामी शनिबारदेखि प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता काठमाडौंमा हुने भएको छ।
नेपाल जितकुन्डो मार्सल आटर्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो। दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्।
जितकुन्डो मार्सल आर्ट्स संघले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै दक्षिण एसियामा पहिलोपल्ट हुन लागेको एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताबारे जानकारी दिएको हो।
आयोजक नेपालसहित भारत, बाङ्लादेश र श्रीलंकाका गरी कुल ७० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। संघका अध्यक्ष रामबहादुर ठकुरीले ब्रुस लीको सिद्धान्तबाट सुरु यस खेलको थप विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय च्याम्पियनसिप गरिएको बताए।
प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ।
महिलामा भने ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा मात्र प्रतिस्पर्धा रहेको छ। हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए। स्वर्ण पदक विजेतालाई ४१ हजार र अन्यलाई पनि पुरस्कारको व्यवस्था गरिन सक्ने उनको भनाइ छ।
प्रकाशित: २६ पुस २०८१ ०८:४८ शुक्रबार