खेल

जय ट्रफीमा पहिलो हारजित: पुलिस क्लबसँग मधेसको फराकिलो हार

जारी जय ट्रफीमा पहिलो जित हार भएको छ । यसअघि सम्पन्न दुई खेल नतिजाविहीन टुङ्गिएका थिए । 

बिहीबार सम्पन्न तेस्रो खेलमा भने नेपाल पुलिस क्लबले मधेस प्रदेशसँग फराकिलो जित निकालेको छ । मधेस एक इनिङ र ३५ रनले पराजित भएको हो । 

यसअघि बुधवार पहिलो इनिङमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले मयन यादवको ५९ रनको मद्दतले १२९ रन जोडेको थियो । जसमा नीरज यादवले २९, अभिशेख तिवारीले १७रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्कको योगदान समेत दिन सकेनन् । 

मधेसलाई सस्तैमा रोक्ने क्रममा नेपाल पुलिस क्लबका गुल्शन झाले ५, कुशल भुर्तेलले २ र ललित राजवंशी तथा श्रवण यादवले एक÷एक विकेट लिए । 

त्यसपछि आफ्नो पहिलो इनिङमा उत्रिएको पुलिस क्लबले ब्याटिङमा सुदृढ प्रदर्शन गरेको थियो । ओपनर द्वय कुशल भुर्तेल र दिलीप नाथले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेपछि पुलिस क्लब बलियो बनेको थियो । 

जसमा कुशलले ६३ र दिलीपले ४० रनको योगदान दिए । त्यसपछि अमित श्रेष्ठले ३५, गुल्शन झाले २०, आरिफ शेखले ४०, अर्जुन साउदले २२ र शङ्कर रानाले ३१ रनको योगदान दिए । 

पुलिस क्लबले २५८ रनमा ४ विकेट गुमाउँदा इनिङ डिक्लेयर गरेको थियो । 

मधेस प्रदेशका बलर हरिशंकर शाहले २, अभिशेख तिवारी र रुपेश सिंहले एक÷एक विकेट लिए । 

त्यसपछि दोस्रो इनिङका लागि मैदानमा उत्रिएको मधेस प्रदेशको टोली ९४ रनमै अलआउट भयो । जसमा विशाल पटेलले २७, मयन यादवले २२, हिमांशु दत्तले १७ रन जोड्दा अन्य ब्याटर धराशायी बने । 

पुलिस क्लबका तर्फबाट कुशल भुर्तेलले ५, गुल्शन झाले ३ र ललित राजवंशीले २ विकेट लिए । 

पुलिस क्लबले एकै इनिङमा जोडेको २५८ रनबाट मधेस प्रदेशले दुवै इनिङमा अलआउट हुँदै ३५ रन पछि रहन पुग्यो । 

प्रकाशित: २५ पुस २०८१ १४:१८ बिहीबार

#Jaya Truphy