खेल

जय ट्रफी: आर्मी र पुलिसकाे अग्रता

बोल्ड आउट पुलिसका दिलीप नाथ। तस्बिर: क्यान

विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटमा अग्रता लिएका छन्।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो दुई एकदिवसीयमा पुलिसले मधेस प्रदेशविरुद्ध पहिलो दिनको खेल सकिँदा ४५ रनले अग्रता लिएको हो। जनकपुरको रामजानकी बहुउद्देश्यीय मैदानमा अर्को विभागीय टोली आर्मीले पनि बागमती प्रदेशविरुद्ध पहिलो दिन सकिँदा १५२ रनको अग्रता लिएको हो। त्यसअघि पहिलो इनिङमा आर्मीले पाँच विकेट गुमाउँदा २७६ रन बनाएको थियो। बागमतीले भने पाँच विकेट गुमाउँदा १२४ रन जोडेको छ। बागमतीका लागि नन्दन यादव १८ र विपिन आचार्य १ रनमा ब्याटिङ गरिरहेका छन्।

शुभ कंसाकार ३४, उत्तम मगर २८, रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर पेभेलियन फर्किए। आर्मीको बलिङमा आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ओपनर इमरान शेख र मध्य क्रमका ब्याटर बसिर अहमदले अर्धशतक बनाएपछि राम्रो योगफल बनाएको हो।

इमरान शेखले १०४ बलमा ११ चौकासहित सर्वाधिक ७२ रन जोडे। बसिर ६४ बलमा आठ चौकासहित ५३ रनमा र कुशल मल्ल ३५ रनमा क्रिजमा छन्। तृतराज दासले ४४ र भीम सार्कीले ३२ रन बनाए। बागमतीको बलिङमा विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए।

त्यसअघि मधेस पहिलो इनिङमा १२९ रनमै अलआउट भएको थियो। पुलिस भने पहिलो दिनको समाप्तिमा १७४/३ को स्थितिमा छ। पुलिसका अमित श्रेष्ठ ३४ रन र कप्तान आरिफ शेख १३ रनमा क्रिजमा छन्। त्यसअघि कुशल भुर्लेल ६४ र दिलीप नाथले ४० र गुलसनकुमार झाले २० रन जोडे।

६८ बलमा कुशलले १० चौका हिर्काए। मधेसको बलिङमा कप्तान हरिशंकर साहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेस सस्तैमा अलआउट भएको थियो। मधेसका मायन यादवले सर्वाधिक ५३ रन जोड्दै आफ्नो लय जारी राखे।

उनले यसअघि बागमतीविरुद्धको पहिलो खेलमा १०६ रनको शतक बनाएका थिए। मायनले पुलिसविरुद्ध पनि लय जारी राखे। १०२ बलमा उनले पाँच चौका र दुई छक्कासहित अर्धशतक बनाएका हुन्।

नीरज यादवले २९ र अभिषेक तिवारीले अविजित १७ रन बनाए। पुलिसको बलिङमा गुलसनकुमारले पाँच विकेट तथा कुशल भुर्तेलले दुई तथा ललित राजवंशी र श्रवण यादवले समान एक विकेट लिए।

प्रकाशित: २५ पुस २०८१ ०९:५५ बिहीबार

# Jaya Trophy # Advancement of army and police