खेल

चुनिखेलमा क्रिकेट एकेडेमी सञ्चालन

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा सुविधासम्पन्न क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ।

काठमाडौंको उत्तरी भेगमा करिब १० रोपनी क्षेत्रफलमा काठमाडौं क्रिकेट एकेडेमी (केसिए) सञ्चालनमा आएको हो। व्यवसायी तथा क्रिकेटप्रेमी सबिन कार्कीले तीन करोड लगानीमा इन्डोर र आउट ट्रेनिङ ग्राउन्डसहित एकेडेमी सञ्चालनमा ल्याएका हुन्।

गत साउन १ गतेदेखि निर्माण थालेको एकेडेमी यसै पुसबाट सञ्चालनमा आएको एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका कार्कीले बताए। पाँचवटा पिच, बलिङ मेसिन, बलरले फ्याँक्ने बलको स्पिड मापन गर्ने (स्पिडो मिटर), जिम हल र प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदानसहित सुविधासम्पन्न एकेडेमी सञ्चालनमा ल्याइएको हो।

एकेडेमीमा बनेका पाँचवटा पिचको फरकफरक विशेषता पनि रहेको छ। दुईवटा रातोमाटोको टर्प पिच छन्। नेपालमा २०/२१ वर्षदेखि पिच बनाउन काम गरिरहेका क्युरेटर अजय पाण्डेले पिच निर्माण गरेका हुन्।

माटोको टेस्ट गरेर मात्र पिचमा राखिएको अनुभवी क्युरेटर अरूण पाण्डेले जानकारी दिए। काठमाडौं क्रिकेट एकेडेमी (केसिए) का प्रबन्ध निर्देशक कार्कीले नेपालकै सबैभन्दा ठूलो (३३ हजार स्क्वायर फिट) को अन्तर्राष्ट्रियस्तरको आउट डोर प्राक्टिस टर्प पिच पनि रहेको बताएका छन्। फास्ट बलरका लागि पर्याप्त रन अप पुग्ने स्पेसहित पिच तयार पारिएको छ।

‘फास्ट बलर र स्पिनर उत्पादन गर्नका लागि फरकफरक पिच निर्माण गरेका छौं। पिचहरू बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड ध्यान दिएका छौं। यहाँ राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न सक्छन्। राष्ट्रिय टोलीका खेलाडीलाई निशुल्क अभ्यास गर्न दिन्छौं। जिल्ला र प्रदेशका खेलाडीका लागि पनि विशेष सुविधा दिनेछौं,’ केसिएका प्रबन्ध निर्देशक कार्कीले भने।

राष्ट्रिय टोलीमा काम गरिसकेका अनुभवी सामजङ्ग थापा र मञ्जुर खाँ आलमलगायत पाँच जना प्रशिक्षकले प्रशिक्षण दिनेछन्। चर्चित प्रशिक्षकलाई भित्र्याउने तयारी पनि गरिरहेको एकेडेमीका सञ्चालक कार्कीले बताएका छन्।

हाल एकेडेमीमा अहिले ५० जनाले क्रिकेट सिकिरहेका छन्। प्रबन्ध निर्देशक कार्कीले एकेडेमीबाट सिकेर राष्ट्रिय खेलाडी बन्ने सपना लिएका खेलाडीका लागि आफ्नो एकेडेमी राम्रो माध्यम रहेको विश्वास व्यक्त गरे। एकेडेमीले होस्टेलको व्यवस्थासहित आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक पनि भित्र्याउने लक्ष्य राखेको छ।

‘ग्रासरुट क्रिकेटको विकास गर्न आवश्यक र पर्याप्त सुविधासहित एकेडेमी निर्माण गरेका छौं। यो एकेडेमीले नेपालको क्रिकेट विकासमा एउटा इँटा थप्ने विश्वास लिएका छौं। सानै उमेरदेखि क्रिकेट खेल्ने चाहना राख्नेका लागि पर्याप्त सेवासुविधासहित एकेडेमी खोलेका छौं,’ उनले भने।  

प्रकाशित: २० पुस २०८१ १०:०८ शनिबार

# Budanilkanth Municipality # Well equipped cricket academy