खेल

सन्यासबारे बोले रोहित शर्मा

भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट सन्यासबारे बोलेका छन्। 

अस्ट्रेलियाविरुद्ध सिड्नी टेस्ट म्याच नखेलेका हिटम्यान रोहितले अब टेस्ट क्रिकेटबाट टाढिने अनुमान गरिएको थियो। तर अब रोहितले टेस्ट सन्यासको बारेमा स्पष्ट पारेका छन्। 

सिड्नीमा स्टार स्पोर्ट्ससँग कुरा गर्दै रोहितले अझै टेस्टबाट सन्यास नलिएको स्पष्ट गरेका हुन्। रोहितले भने, ‘अहिले रन बन्दैनन्, तर ५ महिना पछि पनि आउँदैनन् भन्ने ग्यारेन्टी छैन। म कडा मेहनत गर्नेछु।’ 

रोहितले आफ्नो सन्यासको बारेमा पनि कुरा गर्दै भनेका छन्, ‘हेर्नुहोस्, म फर्ममा छैन। सिड्नी टेस्टबाट बाहिरिनु मेरो आफ्नै निर्णय थियो। तर म सन्यासको बारेमा सोच्दिन। ब्याटले अहिले काम गरिरहेको छैन। म दुई सन्तानको बाबु हुँ, कुन बेला के गर्नुपर्छ म बुझ्छु। आउट अफ फर्मका ब्याट्सम्यानले यस्तो महत्वपूर्ण खेल खेल्ने मौका पाउनुहुँदैन। जसकारण मैले सिड्नी टेस्टबाट मेरो नाम फिर्ता लिए। तर यो सन्यास लिएको होइन।’ 

केही समयदेखि रोहितले टेस्टमा कुनै खास प्रदर्शन गर्न सकेका थिएनन्। जसकारण सन्यासका कुराहरू बाहिर आएका हुन्। भारतमा खेलिएको न्युजिल्याण्डविरुद्धको सिरिजमा पनि रोहितले खास केही गर्न सकेनन्।

 

प्रकाशित: २० पुस २०८१ ०८:२५ शनिबार