खेल

पुनमको सुखद पुनरागमन

बागमती युथविरुद्ध बल प्रहार गर्दै आर्मीकी कप्तान पुनम जर्घामगर। तस्बिर सौजन्य : क्लिक स्पोटर्स

दुई वर्षपछि मैदान फर्किएकी पुनम जर्घामगरको कप्तानीमा त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको फाइनल चरणमा सुखद सुरुआत गरेको छ।

पुनमको कप्तानीमा आर्मीले बागमती युथ क्लबमाथि २–० को जितसहित सुखद सुरुआत गरेको हो। चोटकै कारण राष्ट्रिय टोलीबाट पनि संन्यास लिएकी पुनम २ वर्षदेखि मैदानबाहिर थिइन्।

चोटपछि शान्ति मिसन गएकाले पुनम लामो समयदेखि घरेलु फुटबलमा पनि देखिइनन्। तर, एन्फा महिला लिग २०२४ को फाइनल चरणको पहिलो खेलमा नै उनले मैदान छिर्ने अवसर पाइन्। लामो समयपछि मैदान फर्किए पनि आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले पहिलो रोजाइमा नै पुनमलाई अवसर दिए, त्यो पनि फरक भूमिकामा।

पुनमको पोजिसन डिफेन्स हो। तर, बिहीबार बागमतीविरुद्ध प्रशिक्षक ठगुन्नाले उनलाई नयाँ भूमिका मिडफिल्डमा जिम्मेवारी दिएका थिए। जहाँ पुनमले न्यायपूर्वक खेलेको प्रशिक्षक ठगुन्ना बताउँछन्। २०७८ सालको असोजमा पुनमको मुटुको शल्यक्रिया गरिएको थियो। केही समयपछि मैदान फर्किएकी पुनमले त्यसको ठीक एक वर्षपछि राष्ट्रिय टोलीबाट पनि संन्यास लिएकी थिइन्। बिहीबार लामो समयपछि जर्सीमा देखिँदा उनी निकै उत्साहित पनि भइन्।

खेलका लागि मैदान प्रवेश गर्न लाग्दा उनको मुहारमा खुसी र उत्साह प्रस्ट देखिन्थ्यो। ‘लामो समयसम्म फुटबल खेलेको थिइनँ। त्यसैले कति खेर मैदानमा प्रवेश गरुँ भन्ने लागेको थियो। त्यसैले खेल्न उत्साहित पनि थिएँ। साथै पहिलोपल्ट नयाँ भूमिकामा पनि खेल्दा केही डर पनि थियो,’ पुनमले भनिन्, ‘तर आज नयाँ भूमिकामा पनि राम्रो खेलें जस्तो लाग्छ। खेलबाट सन्तुष्ट नै छु।’

महत्त्वपूर्ण दुई खेलाडी दीपा शाही र अमिशा कार्की नहुँदा प्रशिक्षक ठगुन्नाले त्यो ठाउँ परिपूर्ति गर्न अनुभवी पुनमलाई मिडफिल्डको जिम्मेवारी दिएका हुन्।

प्रशिक्षक ठगुन्नाले पनि शल्यक्रियापछि लामो समय मैदानबाहिर रहेर पनि पुनमले राम्रो खेलेको बताए। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुनमले केही राम्रा अवसर पनि सिर्जना गरेकी थिइन्। तर, गोल भने निस्किएन। उनको दुई उत्कृष्ट प्रहारलाई बागमतीकी गोलकिपर सुजाता तामाङले असफल बनाएकी थिइन्।

आर्मीको जितमा विमला चौधरीले दुई गोल गरिन्। यता, लिगमा छैटौं स्थानमा रहेर पनि फाइनल चरणको लिग खेल्न पाएको बागमतीले भने राम्रो खेल्न सकेन। ८५औं मिनेटमा बागमतीकी कप्तान दिव्या इस्माली मगरले चोट बोकेर बाहिरिनुपरेको थियो।

अन्य खेलाडीले पनि फिटनेसमा केही संघर्ष गर्नुपरेको थियो। बागमतीका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले बलियो र अनुभवी टोली आर्मीविरुद्ध प्रतिस्पर्धा गर्न शारीरिक रूपमा केही कठिनाइ भएको बताए। एन्फा महिला लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए।

उक्त पहिलो चरण (४५ खेलपछि) मा शीर्ष पाँच टोलीले फाइनल चरणमा स्थान बनाएका हुन्। पाँचौं स्थानको कोसी प्रदेश फुटबल संघले आर्थिक समस्या देखाउँदै दोस्रो चरणको लिग नखेल्ने भएपछि बागमतीले छैटौं स्थानमा रहे पनि फाइनल राउन्ड खेल्न पाएको हो। घरेलु फुटबलका स्टार र विदेशी खेलाडीबिना खेलेको बागमतीको सुरुआत राम्रो हुन सकेन।

विभागीय टोलीविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन। आर्मीले दुवै हाफमा समान एक गोल गरेको हो। बागमतीले भने खासै लोभलाग्दो अवसर सिर्जना गर्न सकेन। विमलाले खेलको २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन्।

डिफेन्स लाइनबाट विमला विकले दिएको लामो क्रस सदुपयोग गर्दै उनले गोल गरेकी हुन्। विमलाले ३८औं मिनेटमा गोल गर्ने अर्को अवसर खेर फालिन्। बागमतीको डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई विमलाले प्रहार गरे पनि गोलकिपर सुजाता तामाङले रोकिन्।

लगत्तै रिबाउन्ड बल नियन्त्रणमा लिँदै विमलाले अर्को प्रहार गरिन्। तर, यसपल्ट भने उनले पोस्टको दिशा लिन सकिनन्। यससँगै पहिलो हाफमा बागमती १–० ले पछि रह्यो। दोस्रो हाफको सुरुमै बागमतीकी अस्मिता खवासले गोल गर्ने अवसर गुमाइन्।

पेनाल्टी बक्सनजिकैबाट अस्मिताले फितलो प्रहार गरिन्। ५५औं मिनेटमा आर्मीकी कप्तान पुनम जर्घामगरको हेडर गोलमा परिणत हुन सकेन। कर्नरबाट आएको बललाई पुनमले नजिकैबाट हेड गरे पनि पहिलो बारमा लागेर फर्किन पुग्यो।

६२औं मिनेटमा पनि आर्मीकी सपना लामाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार बागमतीकी गोलकिपर सुजाता तामाङका लागि चुनौती भएन। तीन मिनेटपछि नै पुनमले दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट प्रहार बागमतीकी गोलकिपर सुजाताले पन्च गर्दै संकट टारिन्।

७१औं मिनेटमा नै विमला चौधरीले नै दोस्रो गोल गरिन्। सपना लामाले कर्नरबाट दिएको बललाई विमलाले हेडमार्फत गोल गरेकी हुन्। चार मिनेटपछि नै बागमतीकी सेमिहाङ्मा लिम्बुले करिब २५ यार्डबाट गरेको फ्रिकिक आर्मीकी गोलकिपर अञ्जना रानामगरले नियन्त्रणमा लिइन्।

८०औं मिनेटमा आर्मीकी कप्तान पुनमको फ्रिकिक बागमतीकी गोलकिपर सुजाताले मुस्किलले बचाइन्। त्यसपछि पनि आर्मीले गोलका केही राम्रा अवसर सिर्जना ग¥यो। तर, गोल निस्किएन र आर्मीले बागमतीमाथि २–० को जित निकाल्यो।

फाइनल राउन्डमा तीन विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब र आर्मीसँगै वालिङ नगरपालिका र बागमतीले खेल्नेछन्। यीमध्ये आर्मीले सुखद सुरुआत गरेको हो। विभागीय तीनसहित १० टोलीले गत भदौ र असोजमा एन्फा कम्प्लेक्सको मैदानमा राउन्ड रोबिनका आधारमा सञ्चालित लिगको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए।

फाइनल लिगमा पाँच टोलीले एकअर्काविरुद्ध समान २/२ खेल खेल्नेछन्। यहाँबाट एक टोली बाहिरिइनेछ भने शीर्ष चार टोली प्लेअफ पुग्नेछन्। त्यसमा शीर्ष दुई टोली पहिलो क्वालिफायरमा पुग्नेछन्। तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायर विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ। पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ।

प्रकाशित: १९ पुस २०८१ ०८:५६ शुक्रबार

# Sports # Poonam's happy comeback