खेल

नितिशको शतकसँगै भारतको पुनरागमन

मेलबर्नमा जारी ‘बक्सिङ डे’ टेस्टको तेस्रो दिन कुनै नाटकभन्दा कम रोमाञ्चक रहेन। घरेलु टोली अस्ट्रेलियाविरुद्ध भारत ‘फलोअन’ मा जाने सम्भावना धेरै थियो। तर, तल्लो क्रमका नितिशकुमार रेड्डीले शतकीय इनिङ खेल्दै भारतलाई मात्रै जोगाएनन् व्यक्तिगत कीर्तिमान समेत रचे।

अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रन बनाएको थियो। तर, भारतले सुरुआत राम्रो गरे पनि स्थिर प्रदर्शन गर्न सकेन। दोस्रो दिन सकिँदा १६१/५ बाट भारतले सुरु गरेको हो। पहिलो सेसनमा ऋषभ पन्त २८ र रवीन्द्र जडेजा १७ रनमा आउट भएसँगै भारतमाथि दबाब झनै बढ्यो। तर, २१ वर्षे नितिशकुमारले १०५ रनको अविजित शतकीय इनिङ खेल्दै दबाब रोक्ने प्रयास गरे।

क्रिजमा रहेका नितिशकुमारले १७६ बलमा १० चौका र एक छक्का प्रहार गरेका छन्। उनको यो इनिङसँगै भारत फलोअनबाट जोगियो। साथै तेस्रो दिनको खेल सकिँदा भारत ३५८/९ को अवस्थामा छ।

अन्तिम सेसनको बीचमा खराब प्रकाशका कारण खेल रोकिन पुग्यो। आइतबार नितिश र मोहम्मद सिराज (दुई रन) ले चौथो दिनको खेल सुरुआत गर्नेछन्। नितिशको अन्तर्राष्ट्रिय करियरको यो पहिलो टेस्ट शतक हो। उनले टेस्टमा ५० भन्दा बढी रन बनाएको पनि पहिलोपल्ट नै हो।

योसँगै उनी टेस्टमा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गर्ने तेस्रो कान्छो भारतीय खेलाडी पनि बने। उनले २१ वर्ष २१४ दिनमा शतक प्रहार गरेका हुन्। यसअघि सचिन तेन्दुलकरले १८ वर्ष २५३ दिन र ऋषभले २१ वर्ष ९१ दिनमा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए। नितिश र वासिङ्टन सुन्दरले आठौं विकेटका लागि १२७ रनको महत्त्वपूर्ण साझेदारी गरे। सुन्दरले ५० रनको उत्कृष्ट योगदान दिए।

कुल ८३ हजार ७३ जना दर्शकसामु नितिशले पहिलो शतक पूरा गरेका हुन्। यससँगै उनका लागि यो टेस्ट सम्झनलायक बन्यो। पहिलो ६ टेस्ट इनिङमा ७१ को औसतका साथ २८४ रन बनाउँदै नितिश यस शृंखलामा सबैभन्दा धेरै रन बनाउने भारतीय खेलाडी बनेका छन्। उनको यो इनिङलाई सुन्दरले अविश्वसनीय भनेका छन्।

‘म नितिशलाई धेरै वर्षदेखि चिन्दछु। उनी मानसिक रूपमा निकै बलिया छन्। उनले आफ्नो शतप्रतिशत दिएका छन्। यो शतक लामो समयसम्म सम्झिने र चर्चा गरिनेछ,’ उनले भने। बलिङतर्फ ५७ रन खर्चेर स्कट बोलान्ड तीन विकेट लिए। कप्तान प्याट कमिन्सले पनि ८६ रन खर्चेर तीन विकेट नै निकाले। बोलान्डले पनि नितिशलाई उत्कृष्ट खेलाडी भन्दै प्रसंशा गरे।

‘नितिश एक उत्कृष्ट खेलाडी हुन्। तल्लोक्रमबाट ब्याटिङ गर्दै उनले हामीमाथि दबाब फर्काउने कोसिस गरिरहेका छन्,’ उनले भने। तर, अस्ट्रेलिया अझै पनि जितका लागि दबाब दिन तयार रहेको बोलान्डको विश्वास छ। उनका अनुसार पिच अझै पनि तीव्र गतिका बलरका लागि ‘बिट अफ निप’ छ।

तीव्र गतिका बलर मिचेल स्टार्कलाई ढाड र पाखुरामा चोट लागेको छ। तर, उनले बलिङ गरिरहेका छन्। उनले टेस्टमा आफ्नो पूर्ण भूमिका निर्वाह गरिरहने बोलान्डले विश्वास व्यक्त गरे। मेलबर्न क्रिकेट ग्राउन्डमा ८३ हजार ७३ जना दर्शक उपस्थित थिए, जुन बक्सिङ डे टेस्टको तेस्रो दिनका लागि कीर्तिमानी संख्या बन्यो। यो सन् १९३७ यताकै सबैभन्दा धेरै उपस्थिति हो।

वर्षाका कारण खेलमा केही अवरोध भएको थियो। ‘टि ब्रेक’ को समय अघि र पछि ४० मिनेट खेल रोकियो। यो टेस्ट शृंखला १–१ को बराबरीमा छ। अन्तिम तथा पाँचौं टेस्ट अर्को हप्ता सिड्नीमा खेलिनेछ।

पहिलो टेस्ट भारतले २९५ रनले जितेको थियो। दोस्रो टेस्ट १० विकेटले जित्दै अस्ट्रेलियाले पुनरागमन गरेको हो। तर, तेस्रो टेस्ट बराबरीमा सकियो। यो टेस्टमा पुछारका ब्याटरले जोगाउँदा भारतले बराबरी गरेको हो। चौथो टेस्टमा पनि भारत उस्तै अवस्थामा देखिएको छ। भारतीय टोली अहिले बलियो स्थिति बनाउन नितिशको धैर्य र सिराजको योगदानमा निर्भर छ।

प्रकाशित: १४ पुस २०८१ ०९:२४ आइतबार

# Boxing Day continues in Melbourne # India likely to go 'follow-on'