खेल

अस्ट्रेलियाका डेब्यू ब्याटरलाई ठक्कर मार्दा कोहली आलोचित

अनुभवी भारतीय खेलाडी विराट कोहलीले आज मात्रै डेब्यू खेल खेलेका अस्ट्रेलियन युवा ब्याटर साम कोन्स्टासलाई दिएको ठक्करले यति बेला अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा चर्चाको विषय बनेको छ । बोर्डर–गावस्कर टेस्ट सिरिज अन्तर्गत मेलबर्नमा जारी ‘बक्सिङ डे’ टेस्टको पहिलो दिन(बिहीबार) नै भएको यो घटनाको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ । 

के हो घटना? 

बिहीबार बिहान सुरु भएको बोर्डर–गावस्कर टेस्ट सिरिजको चौथो खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । यो खेलमा अस्ट्रेलियाले सन् २००५ मा जन्मिएका १९ वर्ष ८५ दिनका युवा ब्याटर कोन्स्टासलाई ओपनिङमा उतारेको थियो । उनीसँगै अर्का अनुभवी ब्याटर ३८ वर्षीय उस्मान खवाजा मैदानमा उत्रिएका थिए । 

डेब्यू खेलको पारीको सुरुवातदेखि नै कोस्टान्स भारतीय अनुभवी दिग्गज बलर जसप्रित बुमराह र मोहम्मद सिराजको बलमाथि जाइलागेर आक्रमक सुरुवात गरे । उनले तावडतोड सुरुवात गरेपछि भारतीय अनुभवी बलर निरीह जस्तै देखिएका थिए । भारतलाई विकेट लिन हम्मे हम्मे परिरहेको देखिन्थ्यो । कप्तान रोहित शर्माको सबै प्रयास असफल प्राय देखिरहेको थियो । 

कोन्स्टासले बढी निसाना बुमराहलाई बनाइरहेका थिए । लगातार प्रयास गर्दा पनि आउट गर्न नसकेपछि भारतीय फास्ट बलर सिराज केही भनेर युवा कोन्स्टासलाई भड्काउन खोजिरहेका थिए । जुन रणनीति टेस्ट खेलमा अक्सर बलरहरू जमेका ब्याटरलाई भड्काउन गर्छन् । 

यस क्रममा सिराजले इनिङको १० ओभर बलिङ सकेर ओभर इन्जुरी सुरु भयो । कोन्स्टास काखीमा ब्याट च्यापेर स्ट्राइकबाट ननस्ट्राइकमा रहेका खवाजातिर अघि बढे । उनी आफ्नै तालमा हिँडिरहेका बेला कोहली आएर पाखुरा ठोक्काए । 

कोहलीको यो हर्कत देखेपछि भिडिओमा कोन्स्टासले केही भनिरहेको देखिन्छ । त्यसपछि कोहली रिसाएजस्तो देखिएर केही भन्न थाले । 

यो घटनापछि तनाव हुने देखेर खवाजा र अम्पायर आएर दुबैलाई सम्झाउँदै परिस्थिति सम्हालेको देखिन्छ । 

यही घटनापछि अहिले कोहली र कोन्स्टासको चर्चा भइरहेको छ । यसमा धेरैजसोले कोहलीको व्यवहारलाई दोष दिइरहेका छन् । कोहलीका समर्थकले उनले अन्जानमा ठक्कर दिन पुगेको बताइरहँदा विपक्षीहरूले उनले जानाजान ठक्कर दिएको भनिरहेका छन् ।

इग्ल्यान्डका पूर्व कप्तान माइकल भानले ‘म्याच रेफ्री’ले कोहलीको यो हर्कत जरुर हेर्ने दाबा गरेका छन् । ‘कोन्स्टास आफ्नो बाटोमा हिँडिरहेका थिए । विराटलाई हेर्नुहोस् त, बाटो बदलेका छन्,’ कमेन्ट्रीका दौरानमा उनले भनेका छन्, ‘विराट एक महान् खेलाडी हुन् । अनुभव पनि धेरै छ । जब उनी पछि फर्केर हेर्नेछन्, आफूलाई सोध्नेछन् मैले यस्तो किन गरेँ ?’ 

अस्ट्रेलियाका पूर्व कप्तान एवं महान् खेलाडी रिक्की पोन्टिङले पनि यसमा सरासर कोहलीको गल्ती रहेको बताएका छन् । ‘विराटले नै ठक्कर मारेर यो घटनाको सुरुवात गरेका हुन्,’ पोन्टिङले भनेका छन् । 

यस्तै भारतीय टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले पनि कोहलीको यो व्यवहारको आलोचना गरेका छन् । उनले पनि म्याच रेफ्रीले यो घटना हेर्नुपर्ने बताएका छन् । 

भारतीय टिमका पूर्व कप्तान सुनिल गावस्करले पनि कोहलीले यो घटनाबाट बच्ने सक्ने ठाउँ रहेको बताएका छन् । ‘कथम् बाटोमा अर्को मान्छे आफ्नो सुरमा हिँडिरहेको छ भने तपाईँ बाटोबाट हट्न सक्नुहुन्छ । यसमा कोही सानो ठुलो हुन्न,’ गावस्करले भनेका छन् । 

पछि प्रतिक्रिया दिँदा भने कोन्स्टासले खेलका दौरानमा यस्तो भइरहने बताएका छन् । ‘यस्ता घटना मैदानमा हुन्छन् र मैदानमै रहन्छन्’, ब्रेकको समयमा कोन्स्टासले भनेका छन् । आफू स्वयं कोहलीको खेलको प्रशंसक रहेको समेत उनले भन्न भ्याएका छन् । 

पूर्व अम्पायर साइमन टफेलले कोहलीको यो हर्कतले उनीमाथि कारबाही हुनसक्ने प्रतिक्रिया दिएका छन् । 

कोहलीमाथि कारबाही हुनसक्छ 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को आचारसंहिता अनुसार क्रिकेटमा कुनै पनि किसिमको शारीरिक टकराबलाई बन्देज गरेको छ । कुनै खेलाडीले जानाजान वा लापरबाहीले अर्को खेलाडी वा अम्पायरसँग ठक्कर मारे आचारसंहिता उलङ्घन मानिन्छ । 

यसलाई म्याच रेफ्रीले लेभल–२ को अपराध मान्नसक्छन् । जसमा सम्बन्धित खेलाडीलाई  तीन चार प्वाइन्ट पेनाल्टी लाग्न सक्छ । यसलाई ‘डिमिरेट प्वाइन्ट’ भनिन्छ । कोहलीका मामिलामा यस्तो भए अर्को खेलमा प्रतिबन्ध लाग्न सक्छ । 

प्रकाशित: ११ पुस २०८१ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App