खेल

कांस्यभन्दा अघि बढ्न सकेन नेपाल

प्रतिस्पर्धाका क्रममा नेपाली खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन (पहेंलो)। तस्बिर: नागरिक

नेपाल नम्बर एक खेलाडीद्वय प्रिन्स दाहाल र रसिला महर्जनको जोडी नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जको मिक्स डबल्समा सेमिफाइनलमै पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार प्रिन्स र रसिलाको जोडी पराजित भएसँगै जारी च्यालेन्जमा नेपाल एक कांस्य पदकमै सीमित भयो। नेपाल नम्बर एकको जोडी सेमिफाइनलमा थाइल्यान्डका नोन्ताकोर्न थोङ अन र कोड्चापोर्न चाइचानाको जोडीसँग २१–१५, २१–१७ को सेटमा नै पराजित भयो। यससँगै घरेलु कोर्टमा जारी च्यालेन्जमा नेपालको चुनौती समाप्त भएको छ। घरेलु टोलीबाट ९ पुरुष र सात महिलाले च्यालेन्जमा पाँच विधामा चुनौती प्रस्तुत गरेका थिए। तीमध्ये मिक्समा कांस्यबाहेक नेपाल पदकविहीन रह्यो।

पुरुष सिंगल्सको क्वालिफिकेसनमा क्षितिज खनाल, मिक्स डबल्समा शोभा गौचन र क्षितिजको जोडी तथा प्रिन्स र रसिलाको जोडीले मात्र जित निकाल्न सफल भए।  

नेपाली खेलाडीको अधिकांश चुनौती पहिलो खेलमा नै समाप्त भयो। मिक्समा मंगलबार नै नेपालको पदक पक्का भएको थियो। क्वार्टरफाइनलमा नेपालकै प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा हुने तय भएपछि घरेलु टोलीको कांस्य पदक पक्का भएको हो। बुधबार नै प्रिन्स र रसिलाको जोडीले क्वार्टरफाइनलमा नेपालकै क्षितिज र शोभाको जोडीलाई २१–११, २१–१२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। तर, सेमिफाइनलमा प्रिन्स र रसिलाको जोडी थाइ प्रतिद्वन्द्वीसँग पराजित हुन पुग्यो।

थाई प्रतिद्वन्द्वीले मिक्स डबल्सको उपाधिका लागि मलेसियाका लाउ यी सेङ र याप रुइ चेनको जोडीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। मलेसियन जोडीले सेमिफाइनलमा भारतका हेमानागेन्द्र बाबु र श्रीललिता सुप्रियाको जोडीलाई २१–१०, २१–९ ले हराएको हो। महिला एकलमा भारतकी इरा शर्मा र थाइल्यान्डकी ललिनरात चाइवानबीच उपाधि भिडन्त हुने भएको छ। सेमिफाइनलमा इराले थाइल्यान्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले अमेरिकाकी इसिका जयसवाललाई २१–१४, २१–१७ ले हराएका हुन्।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जमा आयोजकसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। च्यालेन्जमा पुरुष/महिला एकल तथा डबल्स र मिक्स डबल्स गरी पाँच विधामा प्रतिस्पर्धा भैरहेको छ। शीर्ष चार खेलाडीले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त पाउनेछन्।  

च्यालेन्जलगत्तै आगामी पुस १२ देखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुँदै छ। जुनियरमा पनि नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान र युएईका कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट जुनियरमा समान पुरुष र महिला खेलाडीको प्रतिस्पर्धा हुँदै छ। सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछन्।

प्रकाशित: ११ पुस २०८१ ०६:३० बिहीबार

#NagarikNews #sports