खेल

एनपीएलमा ६५३ चौका, एनसेलले २६ सयभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप २६१२ वटा शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।  

यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छ । शनिबार सकिएको एनपीएलमा कुल ६५३ चौका हानिका थिए । यसवापत एनसेल फाउन्डेसनले २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने भएको हो ।  

क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास एनसेलले लिएको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुने एनसेलले जनाएका छ । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३०, लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले २६, चितवन राइनोजका रवी बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब २४ २४ चौका प्रहार गरेका थिए ।  

“क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिककार्य दुवैका हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसि छौ र यसको लागि हामी क्रिकेट एशोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं । शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिमहरु अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नेछौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।

सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुर्याउन एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गर्ने जनाएको छ।  

प्रकाशित: ८ पुस २०८१ १८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App