आयोजक फिदिम स्पोर्टीङ क्लव पाँचथरको फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लवलाई टाईब्रेकरमा ४-२ गोलले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
फिदिम माविको मैदानमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
फिदिम स्पोर्टीङका लागि आशिष चापागाईं, विशाल दर्जी, राम वाजी र निरोज लिम्बूले गोल गरे । त्रिभुवन आर्मीका तर्फबाट निरोज कुमार घिसिङ र सन्तोष केसीले मात्र गोल गरे ।
दोस्रो क्वार्टरफाइनलमा मंगलबार मछिन्द्र फुटवल क्लव काठमाडौं र न्यु स्टार फुटवल क्लव इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजेता टिमले नगद १० लाख र उपबिजेताले नगद ५ लाख पुरस्कार पाउने छन ।
प्रकाशित: ८ पुस २०८१ १७:४४ सोमबार