खेल

भुटानबाट पाठ सिक्नुपर्ने विडम्बना

अन्तर्राष्ट्रिय फुटबलमा कुनै बेला नेपालले गोलको भारी बोकाउने टोली भुटान हुन्थ्यो। उमेरसमूह होस् या सिनियरस्तरका प्रतिस्पर्धा, नेपालले खेल्यो कि गोल वर्षा नै गथ्र्यो। खेल नेपालको एकपक्षीय हुने भएको कारण कसैलाई हेर्न जानसमेत जाँगर चलिहाल्ने अवस्था हुँदैन थियो। तर, अचेल स्थिति फेरिएको छ। भुटानविरुद्ध गोल गर्न मात्रै होइन, बराबरीमा रोक्न पनि मुस्किल पर्न थालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भुटानबीचको महिला यु–१९ मैत्रीपूर्ण खेल पनि यस्तै रह्यो। ४८औं मिनेटमा सुशीला केसीको गोलमार्फत सुरुआती अग्रता लिए पनि जोगाउन त परकै कुरा १–१ गोलको बराबरीमा रोक्न पनि अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो। धन्न अतिरिक्त समयमा कर्नरबाट आएको बलमा युगेन ल्हामोले सिक्स यार्डनजिकबाट गरेको हेडर फितलो रह्यो र तीन दिनपछि अर्को हार बेहोर्नबाट नेपाल जोगियो।

भुटान यस्तो बलियो प्रदर्शन गर्ने टोली कसरी बन्यो त? मुख्य प्रशिक्षक यमकुमारी घलेसँग यसको प्रस्टै जवाफ छ। त्यो हो, संघले ग्रास रुट फुटबलमा लगानी गरिरहेको छ। क्षेत्रफलको आधारमा नेपालभन्दा भुटान लगभग ३.८ गुणा सानो छ। तर, फुटबलको मामिला भने नेपालको क्षेत्रफलभन्दा कयौँ गुणा लगानी भुटानले गरिरहेको छ। महिला फुटबलको माथिल्लो उमेरसमूहमा नेपालविरुद्ध पहिलो गोल र बराबरीको नतिजा हात पारेपछि घलेले पनि मुखै फोरेर ‘फ्रि एड्भाइस’ दिइन्– उमेरसमूहको एकेडेमीमा राम्रो लगानी गर्नुस्, आनन्दले प्रतिफल पाइन्छ।

उनका अनुसार अहिले भुटानी फुटबल संघको आफ्नै यु–१४, १६ र १९ एकेडेमी छ। यसका लागि क्लबले कहिले लगानी गरिदेला र त्यसको प्रतिफल खाउँला भनेर पर्खिरहन पर्ने अवस्था छैन। आफूले बनाएको लक्ष्य पूरा गर्न संघ आफैँ सक्षम छ। भुटानी फुटबल संघले यस्तो गर्नुको उद्देश्य एसिया कप र विश्वकप जित्नु पनि होइन। यो त नेपालजस्तो कुनै बेला ‘डोमिनेट’ गरेर खेल्ने टोलीलाई हराउँदै साफ च्याम्पियनसिप जित्ने योजना हो।  

नेपालजस्तो बलियो टोलीविरुद्धको नतिजाले भुटान त्यो उपाधिबाट पनि धेरै टाढा नरहेको घले दाबी गर्छिन्। उनी भन्छिन्, ‘हामी सबै समूहको फुटबलका लागि तयारी गर्दैछौं। पछिल्ला नतिजा सबै कडा मिहिनेतको प्रतिफल हो। अहिलेको अवस्थालाई सकारात्मक मान्न सकिन्छ। यस्तै भइरहे हामी साफ जित्छौं।’ भुटानले नेपाललाई पछि पार्ने छनक अघिल्लो वर्षबाट मात्रै देखाउन थालेको हो। गत वर्ष घरेलु मैदानमै भएको त्रिदेशीय प्रधानमन्त्री कपमा अन्तिम समय दीपक सिंह ठकुरीले गोल गर्दै भुटानसँग ऐतिहासिक हार बेहोर्नबाट जोगाए।

तर, ३९ वर्षे फुटबलको इतिहासमा बराबरीमा रोकिएको खराब इतिहास भने जोगाउन सकेनन्। तीन महिनाअघि सातदोबाटोस्थित एन्फा कम्प्लेम्समै भएको साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पनि भुटानले नेपाललाई बराबरीमा रोक्न सफल भयो। अझ त्यसकै एक महिनापछि दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा त भुटानले पहिलोपल्ट नेपाली टोलीलाई गोलरहित बराबरीमै रोक्यो। उमेरसमूहमा पुरुषको टोली पाँच वर्षअघि हलचोकमै भएको साफमा भुटानले हराएको भए पनि महिला फुटबलमा भने त्यो निराशाजनक हार स्विकार्न परेको थिएन।

तर, तीन दिनअगाडि मात्रै यु–१६ टोलीमाथि ५–१ को फराकिलो जित निकालेर त्यो पनि भुटानले स्विकार्न बाध्य बनायो। यस्तो खराब नतिजा बारम्बार दोहोरिनुको पछाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानबाट गतिलो पाठ सिक्दै राष्ट्रिय टोलीको मेरूदण्ड मानिने उमेरसमूहको फुटबलमा प्रस्ट खाका कोर्न नसक्नु नै हो। एन्फाले पुरुष खेलाडीका लागि हेटौंडा (पहिला मकवानपुरको सिस्नेरी), धरान र बुटवलमा एकेडेमी सञ्चालन गरिरहेको छ। तर, त्यो एकेडेमी हात्तीको देखाउने दाँतझैं भइरहेको छ।

देखाउने दाँत छ, भित्री अवस्था कस्तो छ भन्ने कसैले देखेका छैनन्। ती एकेडेमीमा एन्फाले कति लगानी गरिरहेको छ, कसरी चलाइरहेको छ, को खेलाडी उत्पादन भए र ती खेलाडी कहाँ पुगे? एन्फासँग कुनै जवाफ छैन। पुरुषतर्फ गत वर्षदेखि यु–१६ लिग र यो वर्षदेखि लामो समयको अन्तरपछि यु–१८ लिग गरिरहेको छ। तर, सन् २०२७ र २०३१ को महिला टोलीलाई विश्वकपसम्म पुर्‍याउने ‘ड्रिम प्रोजेक्ट’ कागजमा मात्र सीमित छ।  

तर, बलियो राष्ट्रिय टोली बनाउनका लागि जग हाल्न एन्फा नेतृत्वले महिला उमेरसमूहतर्फ कुनै योजना बनाउनै सकेको छैन।भुटानजस्तो राष्ट्रले मैत्रीपूर्ण फुटबल खेल्ने प्रस्ताव गरिदिए पनि १०÷१२ दिनको तयारीमै टोली निर्माण गर्नुपर्ने तितो यथार्थ रहेको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ स्विकार्न हिचकिचाउँदैनन्। यस्तो तयारीले एन्फाको विश्वकप खेल्ने लक्ष्य पूरा होला त? उनी गिज्याउँदै यसको जवाफ दिन्छन्,‘ पूरा हुँदैन। न लगानी छ, न एकेडेमी। त्यसैले यो कुरा त आकाशको फल आँखा तरी मर भनेझैं उखानमै सीमित हुन्छ!’

प्रकाशित: ८ पुस २०८१ ०९:२५ सोमबार

#bhutan #Nepal #NagarikDaily #NagarikNews