फाल्गुनन्द गोल्डकप प्रतियोगिताको ११ औं संस्करण फिदिममा जारी छ।
प्रतियोगिताको दोस्रो खेलमा आज (आइतबार) झापा ११ र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।
फिदिम माविको मैदानमा जारी प्रतियोगितामा दुबै टोली क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धामा हुने छन्।
शनिबार सम्पन्न पहिलो खेलबाट आयोजक फिदिम स्पोटीङ क्लब क्वार्टरफाइनलमा पुगेको छ। भारतको करसाङ फुटबल क्लबलाई ट्राईब्रेकरमा ५-४ ले पराजित गर्दै आयोजक अघि बडेको हो । हार सँगै विदेशी पाहुना टोली घर फर्किएको छ।
४ वटा 'ए डिभिजनका टिम सहभागी प्रतियोगितामा चर्क ब्वाईज युनाईटेड काठमाडौं, न्युरोड क्लब (एनआरटी) काठमाडौं, मच्छिन्द्र क्लब काठमाडौँ र त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ प्रतियोगितामा सहभागी छन्।
महासचिव पासाङ तामाङका अनुसार प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको छ। यो पटक पहिलो पुरस्कार १० लाख ५ सय ५५ रुपैयाँ पुर्याइएको छ।
प्रतियोगितामा दोस्रो हुने टिमले ५ लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ।
प्रकाशित: ७ पुस २०८१ १२:२२ आइतबार