खेल

जितपछिको खुसी....

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले पहिलो च्याम्पियनको उपाधि जितेको हो।

सुदूरपश्चिमले दिएको १८५ रनको चुनौती १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा जनकपुरले पूरा गर्‍यो। ओपनर लहिरु मिलान्थाको ८७ रनको धमाकेदार प्रदर्शनले जनकपुरको जितको आधार तयार गरेको थियो। कप्तान आशिफ शेख र हर्ष ठाकरले समेत उत्कृष्ट साथ दिएका थिए।

जितसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँको नगद पुरस्कार र ट्रफी जितेको छ। यो ऐतिहासिक सफलता पछि त्रिवि क्रिकेट मैदानमा जनकपुरका समर्थकहरूले खुसीयाली मनाउँदै ढोल-नगारा बजाएका र नाचगान गरेका दृश्यले माहोललाई अझ रमाइलो बनाएको छ।

फाइनल खेल हेर्न कीर्तिपुरमा हजारौं दर्शकको उपस्थिति देखिएको थियो। मैदानभित्र मात्र होइन, मैदानबाहिर र सामाजिक सञ्जालमा समेत जनकपुरको जितको चर्चा छ।

जनकपुरको यो जितले नेपाली क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएको छ।

जितपछिको खुसी....

प्रकाशित: ६ पुस २०८१ १६:४१ शनिबार