खेल

सुदूर र जनकपुरबीच पहिलो क्वालिफायर

लिगको २८औं तथा अन्तिम खेलसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा र इलिमिनेटरमा प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागेको छ।

त्रिवि क्रिकेट मैदान सुदूरपश्चिम रोयल्सले सोमबार कर्णाली याक्समाथि ६ विकेटको जित निकालेपछि एनपिएलको लिगका खेल सम्पन्न भए। यद्यपि, यी दुईको नतिजा अगाडि नै पहिलो क्वालिफायर र इलिनमिनेटरमा प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागेको हो।

पहिलो क्वालिफायरमा शीर्ष दुई टोली सुदूरपश्चिम र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्। इलिमिनेटरमा भने लिगको तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णालीबीच भिडन्त तय भएको छ। कर्णालीविरुद्ध सुदूरपश्चिमले १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै प्लेअफमा पुग्ने टोलीको टुङ्गो लागेको हो।

सुदूरपश्चिमले यस ओभरभित्र जित निकाल्न असफल भएपछि चितवन र कर्णालीसँग ८ अंक नै भए पनि काठमाडौं गुर्खाजको प्लेअफ पुग्ने सम्भावना समाप्त भयो। समान सात खेलबाट चितवन, कर्णाली र काठमाडौंको समान आठ अंक नै छ। तर, नेट रनरेटका आधारमा यी तीन टोली क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा रहे। नेट रनरेटमा पछि पर्दै काठमाडौंको यात्रा लिगमा नै टुङ्गिन पुग्यो। समान सात खेलबाट सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष र जनकपुर १० अंकसहित दोस्रोमा रहे।

आठ फ्रेन्चाइज टोली सहभागी लिगमा सुदूरपश्चिमले एक र जनकपुरले दुई हार सामना गरे। सुदूरपश्चिम चितवनसँग पराजित भएको हो। जनकपुर भने चितवनसँगै सुदूरपश्चिमसँग पनि नतिजा सुम्पिन बाध्य भयो।

एकपल्ट फेरि दुईबीच भिडन्त पहिलो क्वालिफायरमा हुनेछ। सुदूरपश्चिम र जनकपुरबीच पहिलो क्वालिफायर तय भयो। पहिलो क्वालिफायर र इलिमिनेटर बुधबार नै हुनेछन्। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएको र पहिलो क्वालिफायरमा पनि सोही लय जारी राख्ने विश्वास व्यक्त गरे। ‘हामीसँग राम्रा अलराउन्डर छन्। मिडियम पेसर पनि राम्रा छन्। सुरुदेखि नै ट्रफी उचाल्ने लक्ष्य राखेका छौं,’ दीपेन्द्रले भने।’

कर्णालीसँग सुदूरपश्चिममाथि जित निकाल्दै दोस्रो स्थानमा उक्लिने अवसर थियो। तर, खराब ब्याटिङसँगै कर्णालीको लक्ष्य पूरा भएन। कर्णालीले १०२ रनको सामान्य लक्ष्य दिएको थियो। सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर त्यो लक्ष्य भेट्टायो। ईशान पाण्डे ३८ रनमा अविजित रहे।

कप्तान दीपेन्द्र ३८ रनमा आउट भए। यी दुईबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी बन्यो। यो नै महत्त्वपूर्ण साझेदारी भयो। नन्दन यादवले दीपेन्द्रलाई विकेटकिपर चाडविक वाल्टनद्वारा क्याच गराउँदै यो साझेदारी तोडेका हुन्। दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे। उनले अलराउन्ड प्रदर्शन गरे र म्यान अफ द म्याचसमेत भए।

ईशानले ३६ बलमा चार चौका हिर्काए। सामान्य लक्ष्य भए पनि सुदूरपश्चिमले ब्याटिङमा संघर्ष गर्नुपर्‍यो। पावर प्लेमा सुदूरपश्चिमले ३० रन जोड्दा तीन विकेट गुमाउन पुग्यो। ओपनरद्वय सैब जैफ ११ र विनोद भण्डारी ४ रनमै आउट भए।

यी दुवै एलबिडब्लु सिकार भए। ब्रान्डन म्याकमुलन पनि ३ रनमा रनआउट हुन पुगे। यससँगै सुदूरपश्चिमको इनिङ धरमरायो। तर, ईशान र दीपेन्द्रले साझेदारी गर्दै इनिङ समाले। कर्णालीको बलिङमा सोमपाल, विपिन र नन्दन यादवले समान एक विकेट लिए पनि जित रोक्न सकेनन्।

चार ओभरमा जिसान मक्सुदले १४ रन मात्र खर्चिएर विकेटविहीन भए। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले सुरुदेखि नै संघर्ष गर्‍यो। अन्ततः १९.५ ओभरमा कर्णाली १०१ रनमा नै अलआउट भयो।

मध्यक्रमका ब्याटर जिसानको ३० रन नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। पहिलोपल्ट रित गौतमलाई ओपनिङ पठाए पनि कर्णालीले राम्रो सुरुआत गर्न सकेन। यसअघि ओपनिङ गर्दै आएका देव खनाललाई पनि चौथो नम्बरमा पठाइएको थियो। तर, यो निर्णय पनि कर्णालीको योजनाअनुरूप हुन सकेन।

दोस्रो ओभरभित्र नै ओपनरद्वय बाबर हायात १३ रन र रितम शून्यमा नै पभेलियन फर्किए। पहिलो १० ओभरमा कर्णाली ४७/४ को अवस्थामा थियो। पछिको १० ओभरमा कर्णालीको ब्याटिङमा सुधार हुन सकेन। उल्टै थप ६ विकेट गुमाउन पुग्यो। विलियम बोसिस्टो १६, वाल्टन ११ र देव ७ रनमा आउट भए।

अलराउन्डर गुलसन झा पनि २ रनमा फर्किए। कप्तान सोमपाल कामीले ११ रनको योगदान दिए। सुदूरपश्चिमको बलिङमा हरमित सिंहले तीन विकेट लिए। कप्तान दीपेन्द्रले चार ओभरमा २० रन मात्र खर्चिएर दुई विकेट लिए। स्कट कुगेलिन र सैफ जैबले समान एक विकेट लिए। 

प्रकाशित: २ पुस २०८१ ०७:१५ मंगलबार