खेल

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बुधबार भार उठाउँदै नेपाल पुलिसकी संगीता राई। तस्बिर सौजन्य : राखेप

काठमाडौं – विभागीय टोली नेपाल पुलिसकी  संगीता राईले बुधबारबाट काठमाडौं जारी प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा १२ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

संगीताले सिनियरतर्फ नीता थापाले २०६२ सालमा ३५औं युवराज जन्मोत्सव कपमा बनाएको स्न्याच र कुलतर्फ ५३.५ र ११८.५ केजी तौलको कीर्तिमान भंग गर्दै ५४ र १२३ केजीको नयाँ कीर्तिमान कायम गरेकी हुन्।

यस्तै, संगीताले बुधबार नै क्लिन एन्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ६९ केजीका साथ नयाँ कीर्तिमान बनाइन्। दोस्रो लिफ्टमा नै कीर्तिमानलाई सुधार गर्दै ६७ केजी तौल उठाएकी संगीताले तेस्रो लिफ्टमा ६९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक हात पारिन्।  सोही स्पर्धामा नेपाली सेनाकी मनीषा रानाभाटले कुलमा ११६ केजीका साथ रजत र रीता गुरुङले ९३ केजीका साथ कांस्य पदक हात पारे।

प्रतियोगिताको ४८ केजी तौलकै जुनियरतर्फको प्रतिस्पर्धामा ग्यालेक्सी फिटनेसकी करिना चौधरीले कुलमा ९३ केजी उठाउँदै स्वर्ण पदक जितिन्। सोही विधामा डिभाइन फिजिकल फिटनेसकी पल्लवी चौधरीले ७३ केजी उठाउँदै रजत जित्दा ग्यालेक्सीकै राधा भुजेलले ३५ केजीका साथ कांस्य पदक हात पारिन्।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ ८ राष्ट्रिय कीर्तिमान कायम भए। प्रतियोगितामा महिलातर्फकै सिनियर ५३ केजी तौलमा नेपाल पुलिसकी देवीकुमारी चौधरीले स्न्याचमा ६५ केजीको नयाँ कीर्तिमान बनाइन्। चौधरीले यसै वर्ष पोखरामा सम्पन्न २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा सन्जु चौधरीले राखेको ६३ केजी तौलको कीर्तिमान भंग गरेकी हुन्। चौधरीले कुलमा १ सय ४५ केजी उठाउँदै स्वर्ण पाइन् भने दोस्रो स्थानमा रहेकी सरस्वती चौधरीले ८५ केजी भारवहन गर्दै रजत पदक हात पारिन्।

यस्तै, जुनियरतर्फ सन्जु चौधरीले बुधबार तीन राष्ट्रिय कीर्तिमान बनाइन्। सन्जुले पोखरामा भएको २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्न्याचमा राखेको ६३ केजी, स्न्याचको ८२ केजी र कुलको १४५ केजीमा सुधार गर्दै ६४, ८४ र १४८ को नयाँ कीर्तिमान बनाएकी हुन्।

यस्तै, जुनियरतर्फ खर्साल युथ क्लबकी काजल यादवले ९७ केजी भारवहन गर्दै स्वर्ण र वीरगन्ज युनाइटेडकी रविना बस्नेतले ९० केजी उठाउँदै रजत पदक जिते।

यस्तै, पुरुष ५६ केजी सिनियरतर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका तुलाराम महतोले कुलमा १८२ केजी उठाउँदै स्वर्ण हात पारे। आर्मीकै सन्तोष थपलियाले कुलमा १६५ केजी उठाउँदै रजत हात पार्दा वीरगन्ज फिजिकल फिटनेसका अशोककुमार शाहले १२५ केजी उठाउँदै कांस्य पदक हात पारे।

५६ केजी जुनियरतर्फ खर्साल युथ क्लबका रामकुमार यादवले १८१ तौल उठाउँदै स्वर्ण हात पार्दा खर्सालकै लालबाबु पासवानले १५३ केजीका साथ रजत र वीरगन्ज युनाइटेडका राजा शाह कानुले १३५ केजीका साथ कांस्य पदक हात पारे।

पुरुषकै ६२ केजी तौलमा आर्मीका राजु चौधरीले कुल २१० केजी तौल उठाउँदै स्वर्ण हात पारे भने नेपाल पुलिसका  मुई लामाले २०१ केजीका साथ रजत र एपिएफ क्लबका सुभाषकुमार साहले १६५ केजीका साथ कांस्य पदक हात पारे।  जुनियरतर्फ खर्साल युथ क्लबका रमेश झाले १६० केजीका साथ स्वर्ण, डिभाइन फिजिकल फिटनेशका गणेश रानाभाटले १५६ केजीका साथ रजत र वीरगन्ज युनाइटेडका सजरुद्धिन आलमले १५० केजीका साथ कांस्य जिते।

प्रकाशित: २९ चैत्र २०७४ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App