विराटनगर किङ्समाथि आइतबार काठमाडौं गुर्खाजको जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को २८औं तथा लिगको अन्तिम खेलबाट मात्र प्लेअफ समीकरण पूरा हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार दुई खेल भए। पहिलो खेल काठमाडौंको पक्षमा रहँदा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले जित निकाल्यो। सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि जित रचेको हो। दुवै खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक रहे। किनकि काठमाडौंले एक विकेट र सुदूरपश्चिमले पाँच रनको साँघुरो अन्तरमा जित निकाले। यो खेलअघि नै प्लेअफ होडबाट बाहिरिएका विराटनगर र पोखराले कडा चुनौती दिए पनि सुखद अन्त्य गर्न सकेनन्।
काठमाडौंले जित निकाल्दै प्लेअफ होड जीवन्त राख्यो। सुदूरपश्चिम पनि जितसँगै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गर्न सफल भयो। लिगकै अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ।
यो नतिजाको पर्खाइमा सबैभन्दा बढी काठमाडौं नै हुनेछ। किनकि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो अन्तरमा हारेमा मात्र पाँचौं स्थानको काठमाडौंको प्लेअफ यात्रा सम्भव हुनेछ। जनकपुर बोल्ट्सका लागि सुदूरपश्चिम र कर्णालीबीचको खेल विशेष चासो छ। किनकि कर्णालीले सुदूरपश्चिमलाई फराकिलो अन्तरमा हराउँदा जनकपुरको शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने लक्ष्य पनि पूरा हुने छैन।
सात खेलबाट जनकपुर १० अंकसहित दोस्रो स्थानमा छ। एक खेल बाँकी छँदा १० अंकसहित सुदूरपश्चिम शीर्षमा छ। सात खेल पूरा गरेका चितवन राइनोज र काठमाडौंको समान ८ अंक नै छ। अन्तिम खेल बाँकी रहँदा कर्णालीको पनि आठ अंक नै छ। तर, नेट रनरेटमा चितवन तेस्रोमा, कर्णाली चौथोमा र काठमाडौं पाँचौं स्थानमा छन्।
यी तीनको नेट रनरेट क्रमशः (०.६३४), (०.०९५) र (–०.३२१) छ। यस्तोमा चितवनको नेट रनरेट बलियो रहेकाले लिगको अन्तिम खेलको नतिजाले असर पर्ने छैन। चितवनको आइतबार नै प्लेअफ यात्रा पक्का भएको हो। अब कर्णाली र काठमाडौंमध्ये एक टोली सोमबार प्लेअफमा पुग्नेछ।
कर्णालीको साँघुरो हार पनि उसलाई प्लेअफमा पुग्न पर्याप्त हुनेछ। यस्तोमा कर्णाली समालिएर खेल्ने योजनामा हुनेछ। तर, अप्रत्याशित नतिजा निक्लँदा भने काठमाडौं प्लेअफमा पुग्नेछ। ठूलो अन्तरले जितेमा भने कर्णालीले शीर्ष दुईमा नै रहेर पहिलो क्वालिफायर नै खेल्ने अवसर पाउनेछ।
त्यसअघि दिनको पहिलो खेलमा काठमाडौंले विराटनगरमाथि रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको हो। पराजयसँगै काठमाडौंको सम्भावना सकिँदा प्लेअफमा पुग्ने सबै टोलीको पनि टुङ्गो एक खेलअगावै लाग्ने समीकरण थियो। तर, काठमाडौंले जित निकाल्दै प्लेअफ होडलाई लम्बाएको हो।
विराटनगरले ११८ रनको सामान्य लक्ष्य दिएको थियो। तर, काठमाडौंले त्यो लक्ष्य पूरा गर्न ९ विकेट गुमाउँदा १८.१ ओभरसम्म संघर्ष गर्यो। मध्य क्रमका शंकर राना र पुछारका ब्याटर दीपेश कँडेलले धैर्यपूवर्क ब्याटिङ गर्दै काठमाडौंको सम्भावना जीवन्त राखेका हुन्। यी दुईले दशौं विकेटका लागि १८ रनको साझेदारी गरे।
शंकर १६ रन र दीपेश ११ रनमा अविजित रहे। दोस्रो खेलमा पनि सुदूरपश्चिमले रोमाञ्चक जित निकाल्यो। सुदूरपश्चिमले जितको संघारमा देखिएको पोखराबाट नतिजा खोसेको हो। पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो।
पोखरासँग चार विकेट पनि हातमा हुँदा जित सम्भव देखिन्थ्यो। तर, खातमा थप दुई रन जोड्दा चार विकेट नै गुमाएपछि पोखरा नतिजा सुम्पिन बाध्य भएको हो। अन्तिम ओभरमा स्कट कुजेलिनले दुई विकेट लिए। एक विकेट रनआउटका रूपमा प्राप्त गरेको थियो। त्यसअघि १९औं ओभरको खेल रोमाञ्चक र निर्णायक रह्यो।
आक्रामक ब्याटिङ गरिरहेका रेमन रेइफर्ट ३३ रन र माइकल लिस्क ५ रनमा आउट भए। हरमित सिंहले यी दुवैको विकेट लिँदै सुदूरपश्चिमलाई खेलमा फर्काएका हुन्। डेथ ओभरमा पनि उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिमले लक्ष्य जोगाएको हो। जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लियो।
प्रकाशित: १ पुस २०८१ ०८:४५ सोमबार