खेल

नेपाल कबड्डी लिगको ड्राफ्ट: ६ टिममा ८४ खेलाडी

नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सफलतापूर्वक सम्पन्न गरिएको छ। ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन्।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन्।

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन्। बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन्। जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन्।

१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवत पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्।

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन्। भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन्।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो। ड्राफ्टमा ९२ जना नेपाली र २५ बिदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए। बिदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए।

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन्। जसमा ६६ नेपाली र १८ जना बिदेशी खेलाडी छन्। प्रत्येक टिममा १४ खेलाडी छन्। हरेक टिमले २ देखि ४ जनासम्म बिदेशी खेलाडी लिएका छन्।

कार्यक्रमका प्रमुख अथितिका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले भने, 'निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ। ठूला कार्यक्रम आइरहेका छन्। यसमा एनकेएल पनि आएको छ। एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ।'

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, 'मधेसमा निक्कै लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिनको लागि एनकेएल ल्याएका छौं। यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौं। वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रूपमा स्थापित गर्न चाहान्छौं।'

नेपाल कबड्डी लिग (एनकेएल)

टिम प्रशिक्षक मार्की

विराटनगर ब्यान्डिट्स लोकबहादुर विष्ट कल्याण भुजेल

जनकपुर नाइट्स पार्वती राई रामु टमाटा

काठमान्डु माभरिक्स सरोजकुमार सिंह घनश्याम रोका मगर

पोखरा लेकर्स विष्णुदत्त भट्ट प्रदीप मिजार

हिमालयन रेइडर्स सन्दीप पन्त/पोथुगान्ती सतिशकुमार गणेश पार्की

धनगढी वाइल्डक्याट्स महेश बोहोरा पदमबहादुर विष्ट

प्रकाशित: १ पुस २०८१ ०७:०६ सोमबार

kabaddi