खेल

एनपीएलः जनकपुरसँगै चितवनपनि प्लेअफमा, बाँकी कुन-कुन टिमको सम्भावना ?

नेपाल प्रिमियर लिग (एनपीएल) मा अब लिग चरणका अन्तिम खेल चलिरहेका छन्। अहिले सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ भने सोमबार अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

७ खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्सले यसअघि नै प्लेअफमा स्थान बनाएको छ । आइतबार भएको पहिलो खेलमा काडमाडौं गुर्खाजले विराटनगर किङ्ससामु एक विकेटको साँघुरो जित निकालेपछि समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरेको छ।

विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भने यसअघि नै लिग चरणमा रोकिएका छन्।

जारी खेलसहित दुई खेलमात्र बाँकी रहँदा सुदूरपश्चिमसँगै कर्णाली याक्स र काठमाडौं गुर्खाजको सम्भावना उत्तिकै छ।

जारी खेलमा विजयी भयो भने एक खेल अगावै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाउने छ। ६ खेलबाट उसको १० अंक हुनेछ । हारले भने समान ८ अंक हुने सुदूरपश्चिम, कर्णाली र काठमाडौंको सम्भावना कायम रहनेछ । पोखराले जिते प्लेअफ खेल्न बाँकी दुई टिमको टुंगो सुदूर र कर्णालीबीचको अन्तिम खेलले लगाउनेछ ।

आइतबार र सोमबारको खेलमा पराजित भएपनि प्लेअफ खेल्ने सुदूरको सम्भावना भने बलियो रहनेछ । रनरेटमा अन्य टिमभन्दा राम्रो रहेकाले सुदूरको सम्भावना बलियो रहेको हो । यद्यपि आइतबार र सोमबारको खेलमा सुदूर फराकिलो अन्तरमा पराजित भयो भने कर्णाली र काठमाडौंको भाग्य चम्कने सम्भावना कायमै रहनेछ ।

सोमबार सुदूर पश्चिमसँग फराकिलो अन्तरमा पराजित भए कर्णाली लिग चरणबाटै बाहिरिने छ । जसले काठमाडौंको भाग्य चम्कनेछ । तर जित वा साँघुरो हारले भने काठमाडौं प्लेअफमा स्थान बनाउन असफल हुनेछ ।

आइतबारको खेलमा विजयी भएर सुदूरपश्चिम सोमबारको खेलमा पराजित भए सुदूरसँगै कर्णालीले प्लेअफ खेल्नेछ ।

इलिमिटेर र क्यालिफायर खेल्ने टोलीको टुंगो पनि सोमबार हुने खेलबाटै लाग्नेछ ।

प्रकाशित: ३० मंसिर २०८१ १४:१८ आइतबार

#sompal kami #Dipendra singh Airee #anil sah #karan KC #NPL Cricket #Kushal Malla