खेल

लुम्बिनीको प्लेअफ सम्भावना समाप्त

नेपाल प्रिमियर लिग

काठमाडौं गुर्खाजको विकेट लिएपछि लुम्बिनीका खेलाडी। तस्बिर: क्यान

ब्याटरले पिचमा संघर्ष गर्नुपरेको दिन बुधबार लुम्बिनी लायन्सको पाँचौं हारसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार चार इनिङ भए। तर, यी चारै इनिङमा ब्याटरले रन बटुल्न निकै संघर्ष गरे। लुम्बिनीले काठमाडौं गुर्खाजसँग प्रतिस्पर्धा गर्नुअघि बुधबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो।

 यी खेलका नतिजा भने सुदूरपश्चिम र काठमाडौंका पक्षमा रहे। पहिलो खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको जित निकाल्दा काठमाडौंले लुम्बिनीलाई १८ रनले हराउन सफल भयो। दुवै खेलमा पहिले ब्याटिङ गर्ने टोलीले नै जित निकाले। त्यो पनि सामान्य लक्ष्य रक्षा गरेर। सुदूरपश्चिमले १२४ रनकोे सामान्य लक्ष्य दिएको थियो। तर, उत्कृष्ट ब्याटिङ गर्दै आएको जनकपुरले यो लक्ष्य भेट्टाउन सकेन।

जनकपुर १२.१ ओभरमै ५१ रनमा अलआउट भयो। जारी एनपिएलमा यो नै सबैभन्दा न्यून योगफल हो। ब्याटिङमा संघर्ष गरेको जनकपुरले जारी एनपिएलमा पहिलो हार सामना गर्‍यो। दिनको दोस्रो खेलको अवस्था पनि उस्तै रह्यो।

काठमाडौंले पनि ब्याटिङमा संघर्ष नै गर्दै १०४ रनको झीनो लक्ष्य दियो। तर, लुम्बिनीले पूरै ओभर खेले पनि यो लक्ष्य पूरा गर्न सकेन। १९.२ ओभरमा अलआउट हुनुअघि लुम्बिनीले ८५ रन मात्र जोड्न सक्यो। चार इनिङमा गरेर ३३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। सुदूरपश्चिमका विनोद भण्डारीले ३३ रन जोडे। यो नै सर्वाधिक व्यक्तिगत रन हो।

चार इनिङमा गरेर बलरले कुल ३९ विकेट लिए। यो आँकडामा स्पिनर नै हाबी भए स्पिनरकै नाममा २४ विकेट रह्यो। काठमाडौंका स्पिनर दीपेश कँडेलले एनपिएलकै किफायती (चार ओभरमा ६ रन मात्र खर्चिएर तीन विकेट) बलिङ गरे। यो हारपछि लुम्बिनीको प्लेअफ सम्भावना पनि समाप्त भयो। छैटौं खेलमा लुम्बिनीको यो पाँचौं हार हो। अब लुम्बिनीले लिगको अन्तिम खेल शनिबार कर्णाली याक्ससँग खेल्नेछ।

हारपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भएको र आफ्ना ब्याटरले पनि योजनाअनुरूप खेल्न नसकेको उल्लेख गरे। ‘पिचमा खेल्दै गएपछि स्लो हुन्छ। हामीसँग अन्य मैदानको विकल्प पनि छैन। यसका लागि हामीले योजना बनाएका पनि हौं। तर, ब्याटरले योजनाअनुरूप खेल्न सकेनन्,’ रोहितले भने।

दिनको पहिलो खेलमा हार बेहोरेको जनकपुर बोल्ट्सका कप्तान अनिल साहले भने पिचलाई दोष दिनुभन्दा पनि ब्याटरको सट सेलेक्सन राम्रो नहुँदा हार बेहोर्नुपरेको उल्लेख गरे। ‘बल धेरै टर्न भएर आउट भएको हैन। सीधा आएको बलमा पनि आउट भएको छ। त्यसैले पिचलाई दोष दिने कुरै हुँदैन। हारको जिम्मेवारी हामी ब्याटरले लिनुपर्छ,’ अनिलले भने।

आफ्नो ब्याटिङमा पनि अनिल सन्तुष्ट देखिएनन्। ‘ब्याटरले आफ्नो दिमागमा धेरै कुराहरू सोच्दा खेल्ने कठिन भएको हो। सुरुदेखि नै मिडल अर्डरको राम्रोसँग परीक्षण हुन पाएको थिएन। पछिल्लो खेल र आज भयो। मिडल अर्डर असफल भयो। मेरो खेलबाट पनि म सन्तुष्ट छैन,’ जनकपुरका कप्तान अनिलले भने।

लुम्बिनी सामान्य लक्ष्य पाए पनि भेटाउन नसक्दा एनपिएलको लिगबाट बाहिरिने पहिलो टोली बनेको छ। पछिल्ला ६ खेलमध्ये लुम्बिनीले बलिङ र ब्याटिङमा एकरूपताको प्रदर्शन गर्न सकेन। सुरुका दुई खेलमा राम्रो ब्याटिङ गर्दा लुम्बिनीले बलिङबाट राम्रो साथ पाएन।

पछिल्लो खेलमा बलिङबाट राम्रो साथ पाए पनि ब्याटिङ चल्न नसकेपछि हार सामना गर्‍यो। लुम्बिनीले एक मात्र जित चितवन राइनोजविरुद्ध मंगलबार निकालेको हो। कप्तान रोहित जारी एनपिएलमा उच्च (२६९ रन) रनकर्ता हुन्। बलिङमा पनि उनको राम्रो प्रदर्शन छ। उनले सात विकेट लिएका छन्। तर, समग्र टोलीको प्रदर्शन राम्रो हुन नसक्दा लुम्बिनीको यात्रा लिगमा नै सीमित हुन पुग्यो। कप्तान रोहितले पनि टोलीले सोचेअनुरूप प्रदर्शन गर्न नसकेको स्वीकार गरे।

‘हामीले आफ्नो क्षमतासँगै लक्ष्यअनुरूप खेल्न सकेनौं। सुरुका खेलमा बलिङमा चुक्यौ। पछिका खेलमा ब्याटिङमा राम्रो हुन सकेन। समग्रमा भन्नुपर्दा राम्रो हुन सकेन,’ लुम्बिनीका कप्तान रोहितले भने।

लुम्बिनीविरुद्ध जितसँगै काठमाडौंको चार खेलबाट चार अंक नै छ। तीन खेल बाँकी रहेको काठमाडौंको प्लेअफ सम्भावना छ।

बुधबारसम्म एनपिएलको कुल १९ खेल सकिएको छ। आठ टोली सहभागी एनपिएलमा समान पाँच खेलबाट सुदूरपश्चिम र जनकपुरको समान आठ अंक छ। तर, नेट रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष छ। सुदूरपश्चिमले एक मात्र हार चितवनसँग बेहोरेको हो।

प्रकाशित: २७ मंसिर २०८१ ०७:२१ बिहीबार

# Nepal Premier League # Lumbini's playoff chances are over