नेपाली खेलकुदकै सबैभन्दा ठूलो फ्रेन्चाइजका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा करिब आधा खेल प्रतिस्पर्धा सकिन लागेको छ।
आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेको एनपिएलको पहिलो संस्करणमा कुल ३२ खेल हुनेछन्। आइतबारसम्म कुल १५ खेल पूरा भएका छन्। आइतबार दुई खेल भए। पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गरे।
यी दुई प्रतिस्पर्धाअगाडि जनकपुर र सुदूरपश्चिमलाई प्लेअफका बलिया दाबेदारका रूपमा हेरिएको थियो। किनकि अनिल साहको कप्तानीमा रहेको जनकपुर र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम तीन खेलसम्म अपराजित थिए।
यी तीनै खेलमा जित निकाल्दा दुवैले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन पनि गरेका थिए। त्यसकारण पनि जनकपुर र सुदूरपश्चिमलाई प्लेअफको बलिया दाबेदारका रूपमा हेरिनु स्वाभाविक पनि हो। तर, आइतबारको प्रतिस्पर्धा भने सुदूरपश्चिम र जनकपुरका लागि फरक नै रह्यो। यद्यपि, दिनको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित निकाल्यो। अर्को बलियो टोलीका रूपमा हेरिएको सुदूरपश्चिमले भने पहिलो हार सामना गर्यो।
चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले हराउँदै उसको अपराजित यात्रामा पूर्णविराम लगाएको हो। जनकपुरलाई जितका बावजुद मिडल अर्डरमा कमजोर ब्याटिङका कारण चुनौती थपिएको छ भने सुदूरपश्चिमको चिन्ता पनि ब्याटिङमा नै हो।
पावर प्लेमा राम्रो सुरुआत नहुनु र कप्तान दीपेन्द्र नचल्दा सुदूरपश्चिमको ब्याटिङ कमजोर बनेको छ। यता, जनकपुरको अवस्था पनि उस्तै छ। शीर्ष तीन ब्याटर आउट भएपछि मिडल अर्डरले इनिङ समाल्न नसक्नु जनकपुरको कमजोर पक्ष बनेको छ।
जनकपुरका ओपनर आसिफ शेखले पनि मिडल अर्डरमा योजनाअनुरूप ब्याटिङ हुन नसकेको स्विकार गरे। ‘मिडल अर्डरमा ब्याटिङ आउँछ भनेर तयार नै थियौं। तर, योजनाअनुरूप हुन सकेन,’उनले भने।
यो स्थितिमा जनकपुर आइतबार लुम्बिनीसँग हारको संघारमा पनि पुगेको थियो। तर, लुम्बिनीले ब्याटिङमा धैर्यता गुमाउँदा जनकपुरले ट्वान्टी ट्वान्टीमा मध्यम मानिने १३७ रनको लक्ष्य रक्षा गरेको हो।
पावर प्लेमा उत्कृष्ट सुरुआत गरे पनि जनकपुरको ब्याटिङले संघर्ष गर्नुपरेको थियो। यसअघिका तीन खेलमा शीर्ष चार ब्याटरको उत्कृष्ट प्रदर्शनका कारण जनकपुरको मिडल अर्डरको परीक्षा हुन पाएको थिएन। लुम्बिनीविरुद्ध शीर्ष तीनका ब्याटर आसिफ शेख, अनिल साह र लाहुरी मिलन्था आउट भएसँगै जनकपुरको ब्याटिङले निकै संघर्ष गर्नुपर्यो।
मध्यक्रमका ब्याटर शुभ कंसाकारले २४ बलमा २२ रन जोडे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यस्तोमा जनकपुरलाई आगामी खेलमा पनि शीर्ष क्रम नचल्दा चुनौती बन्न सक्नेछ।
चितवनको तेस्रो जित
चितवन राइनोजले एनपिएलमा तेस्रो जित आत्मसात् गरेको छ। ब्याटिङ र बलिङ दुवैमा साथ पाउँदा चितवनले सुदूरपश्चिममाथि सहज जित निकालेको हो। यससँगै चितवनले चार खेलमा तेस्रो जित निकाल्यो।
सुदूरपश्चिमको भने चौथो खेलमा पहिलो हार हो। चितवनले १६५ रनको लक्ष्य प्रस्तुत गर्यो। जबाफमा सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमा अलआउट भयो। मध्यक्रमका ब्याटर ईशान पाण्डेको ३५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।
ओपनरद्वय सेफ जैब १८ र विनोद भण्डारी १० रनमा आउट भए। खातामा थप २९ रन जोड्दा सुदूरपश्चिमका महत्त्वपूर्ण ब्याटर कप्तान दीपेन्द्रसँगै ब्रेन्डन म्याकुलन, आरिफ शेख र दिलप्रीत बाज्वा आउट भए। ब्रेन्डन १३, आरिफ ४, दिलप्रीत १२ र कप्तान दीपेन्द्र १ रनमा पेभेलियन फर्किए।
कुनै पनि ब्याटरले लामो इनिङ खेल्न नसक्दा सुदूरपश्चिमको इनिङ कमजोर बन्यो। चितवनको बलिङमा रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रौटेलाको नाममा दुई विकेट लिए। सोहेल तनभिर र रञ्जित कुमारले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन जोड्यो। ओपनर हसन इसाखिलले अर्धशतक बनाए। ५२ बलमा इसाखिलको ६५ रनको प्रेरणा चितवनले राम्रो इनिङ बनाएको हो। मध्य क्रमका ब्याटर रवि बोपाराले ३६, विपिन रावलले १७ र कप्तान कुशलले १३ रन बनाए। १८ बलमा रविले समान दुई चौका र छक्का हिकाए।
लुम्बिनीले गुमायो अवसर
ब्याटरले धैर्यता गुमाउँदा लुम्बिनीले बलियो टोली जनकपुरलाई हराउँदै एनपिएलमा पहिलो जित निकाल्ने अवसर गुमाएको छ।
लुम्बिनी जनकपुरसँग १ रनले स्तब्ध हुँदै एनपिएलमा चौथो हार सामना गर्न बाध्य भयो। जनकपुरको भने यो लगातार चौथो जित हो। हर्ष ठाकुर चम्किँदा जनकपुरले मध्यम लक्ष्य रक्षा गर्यो। लगातार चौथो जितसँगै जनकपुरले प्लेअफ सम्भावना बलियो बनाएको छ। लुम्बिनीको भने यो लगातार चौथो हार हो। यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन बनेको छ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरले १३७ रनको मध्यम लक्ष्य दिएको थियो। यो लक्ष्य पछ्याएको लुम्बिनी अन्तिम बलसम्म जितनजिक नै देखिन्थ्यो। तर, समालिएर ब्याटिङ गर्न नसक्दा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी चौथो हार सामना ग¥यो। जारी एनपिएलमा जितविहीन एक मात्र टोली लुम्बिनी हो।
निर्धारित २० ओभरमा लुम्बिनीले आठ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सक्यो। लुम्बिनीलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो। तर, हर्षले उत्कृष्ट बलिङ गरे। उनले पहिलो बलमै साद बिन जाफरलाई शून्यमा आउट गरे। तर, दुर्गेश गुप्ताले अर्को बलमा चौका प्रहार गर्दै जितको अन्तर घटाए। हर्षले तेस्रो बल डट राखे। चौथो बलमा दुर्गेशले एक रन लिए।
पाँचौं बलमा सन्दीप जोरा आए। उनले दुई रन लिँदै स्ट्राइक आफैंसँग राखे। अन्तिम बलमा लुम्बिनीलाई दुई रन आवश्यक भयो। तर, ठूलो सट खेल्न चक्करमा जोरा क्याच आउट भए र जनकपुरले जित निकाल्यो।
लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ३५ रन बनाए। ३८ बलमा उनले तीन चौका प्रहार गरे। उनले तेस्रो विकेटका लागि टम मोरेससँग ४१ रनको साझेदारी गरे। यी दुई क्रिजमा रहँदासम्म लुम्बिनीको राम्रो स्थितिमा थियो। १६औं ओभरमा रोहित आउट हुन पुगे। हर्षले उनलाई जिमी निसमबाट क्याच गराए। त्यो विकेटसँगै लुम्बिनी दबाबमा पर्यो र नतिजा पनि गुमायो।
जनकपुरको बलिङमा हर्षले पाँच विकेट लिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लको नाममा समान एक विकेट रह्यो। त्यसअघि पावर प्लेमा राम्रो सुरुआतका बाबजुद जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनायो। लुम्बिनीको बलिङमा अभिशेष गौतमले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन खर्चिए।
प्रकाशित: २४ मंसिर २०८१ ०८:१९ सोमबार