खेल

एनपीएल पहिलो जितको खोजीमा कर्णाली लुम्बिनी र पोखरा आज मैदान ओर्लिदै

नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुईवटा खेल हुदैछन्। त्रिवी क्रिकेट रंगशालामा पहिलो खेल बिहान ९ बजे हुने छ। पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ।  

सुरुवाती २ खेलमा हार व्यहोरेको कर्णाली पहिलो जितको खोजीमा हुनेछ भने चितवन अपराजित यात्रा जोगाउन चाहन्छ।  

स्टार खेलाडी भएपनि कर्णालीले सुरुवाती दुई खेलमा कुनै जादु देखाउन सकेको छैन। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग  र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग पराजय व्योहरेको छ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनले आफ्ना सुरुवाती दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौंलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ।

त्यस्तै आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमने सामने हुदैछन्। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। 

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो।  कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले पनि सुरुवाती दुई खेल हारेको छ।

पहिलो खेलमा चितवनसँग र दोस्रो खेलमा जनकपुरसँग पराजय व्योहरेको पोखरा आज जितको खोजीमा रहनेछ। 

प्रकाशित: २१ मंसिर २०८१ ०७:५० शुक्रबार

#NPL #cricket