खेल

फाल्गुनन्द गोल्डकपः ‘ए’ डिभिजनका ४ टिम, पुरस्कार राशि १० लाख नाघ्यो

पाँचथरको फिदिममा आगामी पुस ६ गते देखि हुन लागेको फाल्गुनन्द गोल्डकपमा यस पटक चार वटा ‘ए’ डिभिजन टिम सहभागी हुने भएका छन्।

फिदिम स्थित क्लबमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार दिइएको जानकारी अनुसार चर्ज ब्वाईज युनाईटेड काठमाडौं, न्युरोड क्लब (एनआरटी) काठमाडौं, मचिन्द्र क्लब काठमाडौं र त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं प्रतियोगितामा सहभागी बन्दै छन।  

महासचिव पासाङ तामाङका अनुसार ‘ए’ डिभिजनका चार बाहेक चितलाङ क्लब काठमाण्डौं, विराटनगर सिटी एफ सी विराटनगर, सलहेश युवा क्लब सिराहा, न्यु स्टार क्लब सुनसरी, झापा र आयोजकको टिम गरी कुल दश टिम प्रतियोगितामा सहभागी हुने छन्।

यसपटक बाट प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको छ। यो पटक पहिलो पुरस्कार १० लाख ५ सय ५५ रुपैयाँ पुराइएको छ। प्रतियोगितामा दोस्रो हुने टिमले ५ लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ।

सर्वोत्कृष्ट खेलाडीले इभि स्कुटर पाउने छन्। म्यान अफ दि म्याचका लागि कुल ९० हजार बजेट तय गरिएको छ। त्यस्तै, सर्वाधिक गोलकर्तालाई १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीलाई जनही १०/१० हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताको कुल लागत ९० लाख आङ्कलन गरिएको अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिए। लामो समय पछि प्रतियोगिताले निरन्तरता पाएको हो। उनले भने ‘यो जिल्लाकै प्रतिष्ठाको विषय भएकाले दीर्घकालीन सञ्चालनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ।’

प्रकाशित: २० मंसिर २०८१ १८:०३ बिहीबार