खेल

एनपीएल : लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किङ्ससामु १९२ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रनको योगफल तयार पारेको हो । एनपीएलमा बनेको यो अहिलेसम्मको उच्च योगफल हो । यसअघि सुदूरपश्चिम रोएल्सले विराटनगरविरुद्ध नै १८२ रन बनाएको थियो ।  

लुम्बिनीका लागि क्याप्टेन रोहित पौडेलले २९ बलमा ४६ र टम मूर्सले १७ बलमा ३० रन बनाए । ६४ रनमा २ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहित र टमले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । 

अर्जुन साउदले १७, आशुतोष घिरैयाले १५ र सन्दीप जोराले १२ रन बनाए । साद बिन जफरले १५ रनको योगदान गरे । ७ बलमा विवेक यादव १९ रनमा नटआउट रहे । 

सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामी मगरले एकएक विकेट लिए । आफ्नो तेस्रो खेलमा विराटनगरका क्याप्टेन लामिछानेको यो जारी एनपीएलमा पहिलो विकेट हो ।   

बुधबार नै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो ।  

प्रकाशित: १९ मंसिर २०८१ १४:३७ बुधबार