खेल

कारबाही न्यायोचित छैन : फ्लिन्टफ

लन्डन– इङ्ल्यान्डका पूर्वअलराउन्डर एन्ड्य्रु फ्लिन्टफले बल टेम्परिङ घटनामा अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर तथा ओपनर क्यामरुन बेनक्रफ्ट मात्र दोषी भन्दै प्रतिबन्धित गरेको घटना न्यायोचित नरहेको प्रतिक्रिया दिएका छन्।

पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ओपनर बेनक्रफ्ट तीनै जना दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट खेलमा बल टेम्परिङ घटनामा मुछिएर निलम्बन भएपछि दक्षिण अफ्रिकाले शृंखला ३–१ जितेको थियो।

उक्त घटनापछि क्रिकेट अस्ट्रेलिया (सिए) ले कप्तान स्मिथ र उपकप्तान वार्नरलाई १२ महिना र ओपनर बेनक्रफ्टलाई ९ महिनाका लागि खेलकुद गतिविधिबाट निलम्बन गरेको थियो।

पछिल्लो साता तीन जना खेलाडीले प्रतिबन्ध अपिलबिनै कारबाही सहजै स्वीकार गरेका थिए । तर टोलीका अन्य सदस्यहरूको संलग्नता भने लुकाइएको छ । यस विषयमा अरू बलर, फिल्डिङमा रहेका खेलाडीहरूलाई उक्त घटना संलग्न छन वा छैनन् प्रश्न हावामा नै हराएको छ।

टोलीका तीन सदस्यहरू मात्र कारबाहीको दायरामा आउनुभन्दा पनि अन्य सदस्यहरुको संलग्नता लुकाएको विषय नै हास्यास्पद भएको पूर्वअलराउन्डर फ्लिन्टफको प्रतिक्रिया थियो। 

‘टोलीका अन्य सदस्यहरूलाई यो विषयमा जानकारी थियो या थिएन, भन्ने बारेमा सोचिरहेको छु’, ४० वर्षे फ्लिन्टफले भने, ‘म गलत पनि साबित हुन सक्छु, यो विषय सोचनीय विषय हो । बल कसरी प्रयोग भयो भन्नेमा मात्र केन्द्रित भयौं । क्रिकेट खेलमा प्रयोग हुने बलले महत्व बोक्ने गर्छ।’

‘बलरले बलिङ गरेपछि मैदानभित्रका खेलाडी सबैको हातमा बल पुग्छ, तर तीन खेलाडीलाई टेम्परिङ थाहा हुने भन्ने हुँदैन, जुन निकै हास्यास्पद छ’ २००५ का एसेस इङ्ल्यान्ड पूर्वअलराउन्डर फ्लिन्टफले थपे, ‘बल टेम्परिङमा मात्र हामी केन्द्रित भयौं ।  मिचेल स्टार्क जस्ता खेलाडीलाई थाहा नहुने हुन्छ र ?’

यस्तै फ्लिन्टफले कारबाही गर्ने निकाय क्रिकेट अस्ट्रेलिया (सिए) ले तीन खेलाडीमा गरेको निलम्बनको निर्णय पनि न्यायोचित नभएको बताएछन्।

‘यस्तो हुन सक्दैन, खेलभावना विपरीतको यो घटना यतिमा मात्रै सीमित छैन’ उनले थपे, ‘मलाई  एउटा व्यक्तिको गल्तीले सिंगो खेलाडी जगत्मा नै असर पुर्याएको विषयले निकै चिन्तित बनाएको छ।’

घटनापछि पत्रकार सम्मेलनमा कप्तान स्टिभ स्मिथले झारेको आँसुले मलाई निकै दुखित बनाएको छ । त्यो दृष्यपछि मैले सामाजिक सञ्जालमा चाहेको खुसी प्राप्त भयो या भएन भन्ने प्रश्न राखेको थिएँ।

प्रकाशित: २८ चैत्र २०७४ ०५:३० बुधबार

कारबाही न्यायोचित छैन फ्लिन्टफ