खेल

टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दा नेपाली युवा क्रिकेटरको खुसी (तस्बिरहरू)

नेपाली युवा(१९ वर्षमुनि) क्रिकेट टोलीले टेस्ट राष्ट्र अफगानिस्तानको युवा टोलीमाथि जित निकालेको छ । युनाइटेड अरब इमिरेट्स(युएई)मा जारी अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली युवा टोलीले रोमाञ्चक खेलमा अफगानिस्तानमाथि एक विकेटको जित निकालेको हो ।

यद्यपि यो जित नेपालका सान्त्वना सफलता मात्रै हो । तर, टेस्ट राष्ट्रको टोलीमाथिको जित नेपाल जस्तो एसोसियट राष्ट्रको क्रिकेटका लागि जहिल्यै अर्थपूर्ण हुन्छ । टेस्ट खेलको मान्यताप्राप्त राष्ट्र भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमित सदस्य रहन्छ ।

मंगलबार भएको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको थियो । खेलमा नेपाली बलर सुरुदेखि नै हाबी रहे ।  ३५ दशमलव ४ ओभरमै अफगानिस्तानको टोलीलाई १२३ रनमा अलआउट गरिदिए । जसमा युनिस ठकुरीले १० ओभरमा २४ रन खर्चँदै ३ विकेट, सन्तोष यादवले ४.४ ओभरमा २२ रन खर्चँदै ३ विकेट, हेमन्त धामीले ७ ओभरमा ३१ खर्चेर २ विकेट र अभिषेक तिवारीले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । 

अफगानिस्तानका तर्फबाट ब्याटिङमा फैजल सिनोजादाले ५२ रन जोड्नुबाहेक अन्यले राम्रो योगदान दिन सकेनन् । 

१२४ रनको झिनो स्कोर पछ्याएको नेपाली युवा टोली पनि अफगानी बलरसामु कमजोर देखिए । सुरुदेखि नै विकेट गुमाउँदै जाने क्रम चलिरह्यो । 

तर, ४१ दशमलव ३ ओभरमा ९ विकेट गुमिसकेका बेला नेपालले लक्ष्य भेट्टायो । नेपाली टोलीलाई जित दिलाउन नरेन साउँदले २६, कप्तान हेमन्त धामीले अविजित रहँदै २२ रन,  अर्जुन कुमालले २१ रन र अभिषेक तिवारीले १३ महत्त्वपूर्ण रनको योगदान दिए । 

प्रतियोगितामा नेपाल यसअघि श्रीलंका र बांग्लादेशसँग पराजित भएर उपाधि होडबाट बाहिरिएको थियो। अफगानिस्तानसँगको यो जितले नेपाली युवा क्रिकेटरमा भविष्यमा हुने खेलप्रति आत्मविश्वास भने बढाउने अपेक्षा गर्न सकिन्छ ।  

तस्बिर साभारः एसिसी

प्रकाशित: १८ मंसिर २०८१ १८:०० मंगलबार

#ACC U-19 Cricket Asia Cup #Nepal Beat Afaganistan #Nepali Cricket