खेल

एनओसीको साधारण सभा रोक्न पत्राचार

<br>

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार तय गरेको साधारण सभा रोक्न नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्राचार गरेको छ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को विपरीत विधान संशोधन गर्दै दुईभन्दा बढी एउटै पदमा नेतृत्व चयन हुनका लागि गर्न लागिएको साधारण सभा रोक्न नेपाल रग्बी संघले मुद्दा दर्ता गरेको थियो। साथै उक्त मुद्दामा उच्च अदालत पाटनले सोमबार नै विधान संशोधन नगर्नू/नगराउनू भन्दै अन्तरिम आदेश जारी भएको छ। सोही आदेशसहित राखेपले मंगलबार तय गरिएको एनओसीको साधारणसभा रोक्न पत्राचार गरेको हो।

राखेपले पत्रसँगै उच्च अदालत पाटनबाट भएको आदेशको प्रतिलिपिपसमेत एनओसीमा पठाएको छ। यसअघि आइतबार रग्बी संघसहित ६ वटा खेल संघहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक (आइओसी) को चार्टर र राष्ट्रिय खेलकुद विकास ऐनको विपरीत काम गरिरहेको आरोप लगाएका थिए। उनीहरूले अन्यायपूर्ण तरिकाले आफूहरूलाई एनओसीको सदस्यता प्राप्त गर्नबाट वञ्चित गरेको उल्लेख गर्दै ती आरोप लगाएका थिए।

प्रकाशित: १८ मंसिर २०८१ ०८:५६ मंगलबार

# National Sports Council # Nepal Olympic Committee (NOC)