खेल

‘एनओसीले आइओसीको चार्टरविपरीत काम गर्‍यो’

<br>

नेपाल ओलम्पिक कमिटी (एनओसी) का वर्तमान नेतृत्वले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को चार्टरविपरीत काम भैरहेको आरोप लागेको छ।

नेपालका ६ वटा खेल संघले आइतबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्दै सो आरोप लगाएका हुन्। नेपाल रग्बी संघ, नेपाल घोडचढी, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघ र नेपाल आइस हक्की संघले आफूहरूलाई अन्यायपूर्ण तरिकाले एनओसीको सदस्यता लिनबाट वञ्चित गरिएको उल्लेख गर्दै एनओसीको वर्तमान नेतृत्वले राष्ट्रिय खेलकुद विकास ऐनसँगै आइओसीको चार्टरसमेत लत्याएको उल्लेख गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐनमा दुई पल्टसम्म कुनै पनि खेल संस्थाको एउटै पदमा बस्न पाउने कानुनी व्यवस्था छ।

तर, एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले छलकपट तरिकाले विधान संशोधन गर्दै तेस्रोपल्ट पनि नेतृत्वका लागि प्रयास गरिरहेको ती खेल संघको आरोप छ। नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले दुई पल्टसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव र दशकौंसम्म एनओसीको नेतृत्वमा रहेका श्रेष्ठले ‘डिभाइड एन्ड रुल’ गर्दै नेपाली खेलकुदमा निस्तेजको राजनीति गरिरहेको आरोप लगाए। साथै ६ वटा खेल संघले आफूहरू योग्य भए पनि एनओसीले अन्यायपूर्वक सदस्यता नदिएको आरोप पनि लगाएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को धारा १८ को परिच्छेद ८ बमोजिम एनओसीको सदस्य बन्न योग्य रहेको उनीहरूको भनाइ छ।

साथै ती संघले आइओसीको चार्टरको धारा २८ को उपधारा १ अनुरूप आइओसीबाट स्वीकृत अन्तर्राष्ट्रिय खेल संघले ओलम्पिकको सदस्यता पाउने व्यवस्था रहेको पनि औंल्याए। यी प्रावधान भए पनि एनओसीको वर्तमान नेतृत्वले राजनीति गर्दै बेवास्ता गरेको संघहरूको आरोप छ।

नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघका अध्यक्ष रमेश पौडलले एनओसीका अध्यक्षले आफ्नै विधान पनि लत्याउँदै आएको बताएका छन्। घोडचढी संघका अध्यक्ष राजकर्णिकारले एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय महासंघबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्। एनओसीको अन्यायपछि आफूहरू बाध्य भएर अदालतमा मुद्दा दायर गर्नुपरेको उनीहरूको भनाइ छ।  

प्रकाशित: १७ मंसिर २०८१ ०८:३८ सोमबार

# Nepal Olympic Committee (NOC)